७ बैशाख २०८१, शुक्रबार

अन्तर्वार्ता : सेवकको रुपमा काम गर्ने पूर्ण विश्वास दिलाउँन चाहन्छु

Mohan chapagain photo

तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईंले मेयर पदमा उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा मेयर, उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा एमालेले जितेको थियो । अघिल्लाे स्थानीय तह निर्वाचनलाई निरन्तरता दिन याेजनामा उनी छन् । तिलोत्तमामा सत्ता गठबन्धन भत्किएको अवस्था छ । कांग्रेस र माओवादीबीच गठबन्धन भए पनि एकीकृत समाजवादी एक्लै निर्वाचनमा खडा भएकाे छ । यो अवस्थामा एमालेका लागि यसपटकको निर्वाचन कत्तिको चुनौतीपूर्ण छ भनेर न्युज कारखानाका लुम्बिनी प्रदेश संयोजक लक्ष्मण पाैडेलले चापागाईसँग कुराकानी गरेका छन् :

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
तिलोत्तमा नगरपालिकाको निर्वाचन अलि भिन्न खालको छ । तिलोत्तमा नयाँ नगरपालिका भएको र गत निर्वाचनपछि बनेको कार्यकारी बोर्डले जनतासँग मिलेर जुन ऐतिहासिक कामहरु गर्‍यो, त्यो एमालेले चुनाव जितेका कारण सम्भव भएको हो । त्यसले गर्दा यहाँका मतदाता हामीप्रति उत्साहित, आत्मविश्वासी देखिएका छन् ।

तपाईले चुनाव जित्ने आधार के के छन् ?
राष्ट्रिय हिसाबले एमाले नेतृत्वको संघीय सरकार, प्रदेश सरकारमा नेतृत्व गर्दा गरेका कामहरू र हामीले निर्वाचन जितेपछि गत पाँच वर्षमा नगरपालिकालाई जस्तो बनाएका छौं, यो यहाँका नागरिकको सामूहिक मेहनत, श्रम, लगानीमा सम्भव भएको हो । निर्वाचन जितेपछि गरेका जुन सकारात्मक काम छन्, हामीले हरियाली नगर बनाएका छौं, सफा सुन्दर नगर बनाएका छौं, खुल्ला प्लाष्टिकमुक्त बनाएका छौं ।

बालमैत्री नगरपालिकाका रुपमा घोषणा गरेका छौँ । नेपालका अरु नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै कानुन बनाएका छौं । हामीले गुणस्तरयुक्त र सुशासनयुक्त नगरपालिकाका रुपमा विकसित गरेका छौं । यो हिसाबले हेर्दा हामीले यसपटक चुनाव सहजै जित्छाै‌ँ । अब पनि हामी नगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयबाटै गुणस्तरीय शिक्षा पाउने ग्यारेन्टी गर्ने, स्वास्थ्य बिमाका माध्यमबाट नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्नेछाैँ ।

तपाई सामान्य किसान हुँदै राजनीति क्षेत्रमा प्रवेश गरेको व्यक्ति विगतलाई कसरी स्मरण गर्नुहुन्छ ?
मलाई ठाउँठाउँमा धेरै जनाले यही प्रश्न गर्नुहुन्छ । चुनावभन्दा अगाडि सबै मान्छे आउँछन्, चुनाव जितिसकेपछि तपाई पनि नआउने होला भन्दै प्रश्न गर्छन । म पनि एउटा सामान्य परिवारबाट मेहनत र दुःख गरेर यहाँसम्म आएको व्यक्ति हुँ । मलाई के लाग्छ भने मेरो जिन्दगीमा म कहिल्यै पनि दम्भ, घमण्ड, अहमता प्रदर्शन गर्ने भन्ने हुँदैन । मैले धेरै ठाउँमा भन्ने गरेको छु ।

म तपाईहरूकै भाई हो, तपाईहरूकै छोरो हो, तपाईहरूकै साथी हो । म सँगसँगै स्कुल कलेज पढेका हजारौं साथी हुनुहुन्छ । हाम्रो सबैसँग पारिवारिक खालको सम्बन्ध छ । मसँग कसैले पनि सानो ठूलोको भावनाले हेर्नुपर्दैन । हामी निर्वाचित भइसकेपछि सेवकको रुपमा भूमिका निर्वाह गर्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । हामीले नगरपालिकाको सेवा प्रवाहलाई प्रविधियुक्त बनाएर अगाडि बढाएर लैजान चाहन्छु । म तिलोत्तमा नगरबासीलाई सेवकको रुपमा काम गर्ने पूर्ण विश्वास दिलाउँन चाहन्छु ।

    सम्बन्धित समाचार...