१५ चैत्र २०८०, बिहीबार

अर्कालाई तल देखाएर आफु माथि जाने परिपाटी

gagan oli

स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाहेक सबैजसो दलले केन्द्रबाटै आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् । माओवादीले स्थानीय तहको आवश्यकताअनुसार सम्बन्धित पालिकाले घोषणापत्र बनाउने भनेको छ । रमाइलो कुरा त के भएको छ भने यसपटक दलहरुको घोषणापत्रका विषयमा शीर्ष नेताहरु नै मुखमुखै लाग्न थालेका छन् ।

संविधान कार्यान्वयनपछिको पहिलो निर्वाचन २०७४ मा दलहरुले ठूला सपनासहित घोषणापत्र जारी गरेका थिए । दलहरुले गाउँगाउँमा सिंहदरबारको नारा दिए । यो नारा अधिकार प्रत्यायोजनको कुरामा त थियो नै कतिपयले त्यसै नारासँग स्मार्ट सिटीलाई जोड्दै हरेक पालिकालाई सहर बनाउने उद्घोष गरे । काठमाडौंमा विद्यासुन्दर शाक्यले मोनोरेलको नारा दिनुभयो । १ सय १ दिनमा गर्ने कामको फेहरिस्त सुनाउनुभयो ।

यसपटक दलहरुले बनाएका घोषणा पत्रमा गत निर्वाचनमा जस्तो पूर्वाधार विकासका ठूला गफलाई केही कम गरिएको छ । कांग्रेसले त पूर्वाधार विकासका नाममा भइरहेको विनाश रोक्ने दाबी गरेको छ ।

केही महिनायता थुप्रै स्थानीय तहले पार्टीका नेताहरु लिएर भ्यू टावर उद्घाटन गराए । अनावश्यक ठाउँमा पनि कंक्रिटका टावर निर्माणको होडबाजी देखिएपछि भ्युटावर बनाउने श्रृंखला र प्रवृत्तिकै विरोध भयो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा काठमाडौंमा धरहरा ठडिएको र गाउँगाउँमा भ्यूटावर ठहरिएको भन्दै गर्वका साथ भ्यूटावर निर्माण प्रवृत्तिको स्वामित्व ग्रहण गर्नुभयो ।

यतिबेला भने मुख्य राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा घोषणापत्रको विषयलाई लिएर छेडखानी चलेको छ । आसन्न निर्वाचनका लागि तयार पारेको घोषणा पत्रमा नेपाली कांग्रेसले आधाजसो भाग त तत्कालीन ओली नेतृत्वको सरकारको आलोचनामै खर्चिएको छ । अनि आधा जति भागमा लोकप्रिय नारा समेट्ने प्रयास गरेको छ । कांग्रेसको घोषणापत्र पढेपछि एमाले अध्यक्ष ओलीले त्यसलाई गालीगलौजको पुलिन्दा भनिदिनुभयो । अनि उडन्ते गफको संगालो भन्न भ्याउनुभयो ।

पहिलो प्रधानमन्त्रीकालमा उडन्ते सपनाहरुकै कारण आलोचित बनेका ओली चित्त नबुझेका व्यक्तिविरुद्ध छुद्र अभिव्यक्ति दिन पछि पर्नुहुन्न । बालुवाटारबाट बहिर्गमन भएर बालकोट पुगेकै दिन बार्दलीबाट माधवकुमार नेपाललाई लाल गद्धार घोषणा गरेका ओलीले त्यसअघि र अहिलेसम्म पनि आफ्नो धेरैजसो समय माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको आलोचनामै खर्चिनुहुन्छ । सामान्य आदरार्थी शब्दहरुको प्रयोगसमेत नगर्ने ओलीले कांग्रेसको घोषणापत्रलाई गालीगलौचको पुलिन्दा भनिदिएपछि यतिबेला कांग्रेस नेताहरु प्रष्टीकरण दिन भ्याइनभ्याइमा छन् ।

कांग्रेसको घोषणापत्र तयारी समितिका संयोजक एवम् महामन्त्री गगन थापाले त ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउने ओठे जवाफ फर्काउनुभयो ।

निर्वाचनको तयारी भइरहँदा नागरिकको सबैभन्दा ठूलो आवश्यकता के हो ? यो पाँच वर्षमा सम्पन्न गर्न सकिने काम के हुन सक्छन् भन्ने कुरामा दलहरुको चासो देखिँदैन । बरु केही लोकप्रिय नारा राखिदिने, अरुलाई खुइल्याउने र चुनाव चाँहि आफ्नै पक्षमा पार्ने गरी प्रचारका अरु काइदा खोज्ने काममै नेताहरु व्यस्त देखिन्छन् ।

आफ्नो जित सुनिश्चित गर्न जुनै हदसम्मको सम्झौता पनि गर्न तयार हुने तर त्यसपछि पार्टीका नेता–कार्यकर्ताको दबाब र निर्देशन जे आयो त्यसैमा करोडौँ बजेट खर्चिने प्रवृत्ति विगत ५ वर्षमा देखियो ।

यो पाँच वर्षमा कुनै पनि ठाउँमा दीर्घकालीन सोचका परियोजनाहरु सुरु गरिएन र यसपटकको घोषणापत्रमा पनि ती कुरा समेटिएनन् । राज्यकोषको दोहन गर्ने गरी केही लोकप्रिय नाराहरु राखिए पनि दिगो विकासको खाका कसैले पनि बनाउन सकेका छैनन् । बरु कसले कति स्वैरकल्पना गर्ने सक्ने भन्ने प्रतिस्पर्धा दलहरुको घोषणापत्रमा देखिएको छ । यो गैरजिम्मेवारीपनबाट दलहरु सच्चिन आवश्यक छ ।