१२ बैशाख २०८१, बुधबार

संस्कारलाई चुनौती दिँदै बाबुको किरियामा छोरी प्रतीक्षा

chhori kiriya 1

संस्कारलाई चुनौती दिँदै तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका– २, स्थित तार्की डाँडाकी प्रतीक्षा खनाल आफ्ना स्वर्गीय बुबा कृष्ण मुरारी खनालको किरियामा बसेकी छन् ।

लामो समय दमको रोगबाट ग्रस्त स्व. खनालको ६९ वर्षको निधन भएपछि छोरा नभएका कारण भानुभक्त क्याम्पस वेलचौतारा तनहुँ वि.एड. दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीय कान्छी छोरी प्रतीक्षा खनाल सेती नदी कोत्रेको सती घाटमा मङ्गलवार आफ्ना बुबाको पार्थिव शरीरमा दागबत्ती दिएर हिन्दु परम्परा अनुसार काज किरिया बसेकी हुन् ।

छोरीले आमाबुवा र परिवारका अन्य सदस्यको मृत्यु भएमा किरिया बस्नुहुँदैन भन्ने मान्यता गलत छ भन्ने पुष्टि गर्न, समाजमा छोरा र छोरीबिच हुने विभेदलाई चुनौती दिन र बुबाको अन्तिम इच्छा अनुसार आफु किरिया बसेको प्रतीक्षाको भनाइ छ । पण्डित र समाजले पनि ‘शास्त्रमा लेखिएको छैन, चलिआएको चलन मात्र हो, बस्न हुन्छ’ भनेपछि उनी किरिया बसेकी हुन् ।

chhori kiriya

किरियामा छोरीसँगै बसेकी स्व. खनालकी धर्मपत्नी शोभा खनालले बलिन्द्र आँसु बहाउँदै ‘समाजले के भन्छ, के भन्दैन भन्दा पनि समाज र अभिभावकका लागि छोरा छोरी दुवै बराबरी हुन्, समाजले हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो हुन सक्छ तर बुबाको मृत्यु पश्चात् आदेश र उपदेशलाई कदर गर्दै हिन्दु परम्परा अनुसार काज किरिया बसेकी हुन्’ भन्नुभयो । उहाँले थप्नुभयो ‘दुई दिदीहरू प्रतिभा खनाल (सुवेदी) र प्रमीला खनाल (कँडेल) को बिहे भएका कारण पनि आफ्नै जिम्मेवारी ठानेर कान्छी छोरी किरिया बसेकी हुन् ।’