१३ बैशाख २०८१, बिहीबार

नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयातलाई कम गर्न एमसीसी कोशेढुंगा साबित हुने गृहमन्त्रीकाे दाबी

Balkrishna khad 1
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमै एमसीसी आएको दाबी गर्नुभएको छ । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो ।

उहाँले एमसीसी प्रश्ताव पास हुनु नेपालकै लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गर्नुभयो । गृहमन्त्री खाँणले पूर्ववर्ति सरकारले करिव ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाउनु भयो ।

उहाँले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली काँग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताउनुभयो । यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने दाबीसमेत गर्नुभयो ।

गृहमन्त्री खाँणले अहिले नेपाललाई अर्थतन्त्रको समस्या रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिनुपर्ने बताउनु भयो । गृहमन्त्री खाँणले नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयातलाई कम गर्न एमसीसी कोशेढुंगा साबित हुने दाबी गर्नुभयो ।

गृहमन्त्री खाँणले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको कार्यकालमा नेपाली काँग्रेस देशकै ठूलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो । उहाँले जितसँगै नेपाली काँग्रेसको अग्रसरतामा देशले विकासमा फड्को मार्ने पनि बताउनुभयो।

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही गरिने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्थानीय तह निर्वाचनमा कतै त्रुटी र कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले गठबन्धनलाई नेपाली काँग्रेसको महाधिवेशनले पनि स्वीकारेको भएकोले स्थानीय तहको निर्वाचनमा केन्द्रले गरेको निर्णयलाई स्वीकारेर अघि बढ्न पनि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।