४ बैशाख २०८१, मंगलवार

कोरोनाभाइरसलाई रोक्न सक्ने औषधी : रेम्डेसिभिरले जगायो आशा

corona drug
एजेन्सी/अलजजिरा

कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । बुधबार अमेरिकी सरकारी तथा औषधी उत्पादक कम्पनीका अधिकारीहरुले ओषधीले औसतमा कोरोनाभाइरस संक्रमितलाई चार दिन अगाडि नै निको पार्ने देखिएको बताएका हुन् ।

चीनको ऊहानमा पहिलो पटक देखिएको यस भाइरसले हालसम्म २ लाख २४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । यो भाइरसबिरुद्ध कडा परीक्षण पास गर्ने जिलिड साइन्सेसको ‘रेम्डेसिभिर’ पहिलो औषधी हो ।

स्वास्थ्य अधिकारीहरुले कोरोनाभाइरसको खोप बन्न अझै एक वर्ष टाढा रहेको भनिरहँदा यस भाइरसको उपचारका लागि औषधी फेला पर्नुले वैश्विक महामारीमा ठूलो प्रभाव पार्ने आशा गरिएको छ ।

अमेरिकाको नेशनल इन्सिटिट्युट अफ हेल्थ (एनआईएच) ले विश्वभरका १०६३ जना कोरोनाभाइरस संक्रमितहरुमा रेम्डेसिभिरको प्रयोग र त्यसको प्रयोगबिना यसको परीक्षण गरेको थियो ।

ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा एनआईएनको नेशनल इन्सिटिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउचीले यो औषधीले संक्रमितको उपचार समयलाई औसतमा ३१ प्रतिशतले कम गर्ने बताए । औसतमा उपचारका लागि १५ दिन लाग्छ । यो औषधी प्रयोग गर्दा संक्रमितहरु ११ दिनमा नै निको हुने बताइएको छ ।

उनले यो ओषधी प्रयोगकर्ताहरुमा मृत्युदर पनि कम भएको जानकारी दिए । यसबारे विस्तृत नतिजा केही समयपछि मेडिकल जर्नलमा प्रकाशित गरिने बताए ।

‘के प्रमाणित भएको छ भने यो औषधिले भाइरसलाई रोक्न सक्छ,’ फाउचीले भने ।

‘रेम्डेसिभिरले उपचारको समयको समय घटाउने कुरा तथ्यांकबाट स्पष्ट देखिएको छ,’ उनले भने ।

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन ९एफडीए० ले एक विज्ञप्ति जारी गर्दै क्यालिफोर्नियामा रहेको जिलिड कम्पनीसँग रेम्डेसिभिरलाई बिरामीहरुलाई चाँडोभन्दा चाँडो उपलब्ध गराउन छलफल गरिरहेको जनाएको छ ।

न्युयोर्क टाइम्सका अनुसार एफडीएले रेम्डेसिभिरको आपत्कालिन प्रयोगका लागि अनुमित दिने तयारी गरिरहेको जनाएको छ ।

रेम्डेसिभिरलाई हाम्रो नसाको माध्यमबाट शरीरमा पठाइन्छ । यसलाई भाइरसको आनुवंशिक (जेनेटिक) तत्त्वहरुलाई कपी गर्ने क्षमतालाई अवरोध गर्ने गरी डिजाइन गरिएको छ ।

    सम्बन्धित समाचार...