७ बैशाख २०८१, शुक्रबार

प्रवक्ता महतले भने: सामान्य अवस्थामा पनि बोल्न नहुने ओलीका अभिव्यक्ति खेदजनक छन्

Prakash saran mahat

नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गर्नुभएको छ ।

कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उहाँले भन्नुभयो, “देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”

प्रवक्ता डा महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गर्नुभयो । एमाले अध्यक्ष ओलीले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्पपत्रप्रति नकारात्मक टिप्पणी गर्नुभएको थियो ।

उहाँले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको बताउँदै स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको कांग्रेसले स्थानीय आश्यकता र नागरिकका चाहना सम्बोधन गर्ने गरी स्थानीय तहमा नै घोषणापत्र ल्याउने पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्र स्थानीय सरकारलाई सबल, सक्षम, उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत सङ्कल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठेरो समाधान गर्न सघाउने बताउनुभयो । कांग्रेसले राज्य सञ्चालनको अवसर पाउँदा जहिले पनि जनता र देशको हितमा काम गरेको दाबी गर्दै प्रवक्ता डा महतले पार्टीका नीति, कार्यक्रम र पार्टीले तीनै तहका सरकारमा रहँदा गरेका कामलाई जनतासमक्ष पु¥याउन चर्चित कलाकारको टिमले निर्माण गरेको भिडियो सन्देशमूलक रहेको बताउनुभयो ।

कांग्रेस सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमितिका संयोजक डीबी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसले जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्ने, संविधान बनाउने, निर्वाचन गर्ने र आर्थिक–सामाजिक विकासका लागि नीतिगत परिवर्तन र सोअनुरूप कार्यक्रम ल्याएको बताउनुभयो ।