१६ चैत्र २०८०, शुक्रबार

एक्लै भिडिरहेको नेकपा एमालेलाई राप्रपाले साथ दिएसँगै दुई पार्टीको सँगै घरदैलो सुरु

bharatpur subedi

भरतपुर महानगरपालिकामा पाँच दलीय महागठबन्धनविरुद्ध एक्लै भिडिरहेको नेकपा एमालेलाई राप्रपाले साथ दिएसँगै दुई पार्टीको सँगै घरदैलो सुरु भएको छ ।

भरतपुर महानगरपालिका–२८ मा मेयरका उम्मेदवार सुवेदी र उपमेयरकी उम्मेदवार हिमला गुरुङले सँगै घरदैलो र प्रचारप्रसार सुरु गरेका हुन् ।

अघिल्लो निर्वाचनमा ६ हजार मत कटाएको राप्रपाले यसपटक एमालेको मेयर उम्मेदवार सुवेदीलाई समर्थन गर्दै उपमेयरमा मात्र उम्मेदवारी दिएको छ । उपमेयरमा राप्रपाबाट जिल्ला उपाध्यक्ष हिमला गुरुङले उम्मेदवारी दिएकी छन् ।
भरतपुर महानगरपालिका शारदानगरकी हिमला राप्रपाको पुरानो नेता हुन् ।

विक्रम पाण्डेको निर्वाचन क्षेत्र रहेको भरतपुर र माडी दुवैमा एमालेलाई मेयरमा सघाएर राप्रपाले उपमेयर लिएको छ । माडीको उपमेयरमा राप्रपाबाट मदन पौडेल उम्मेदवार बनेका छन् । त्यहाँ एमालेबाट यसअघिकी उपमेयर ताराकाजी कुमारी महतो मेयरको उम्मेदवार छन् । अघिल्लोपटक राप्रपालाई उपमेयर नदिँदा ३०० मतको अन्तरमा पराजित भएकाले यसपटक राप्रपालाई समेत समेटेर एमाले ढुक्क हुन खोजेको छ ।

एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘मतपत्र नच्यातिएको भए एमालेले अघिल्लो चुनावमै पनि जितिसकेको थियो । त्यो चुनाव हामीलाई हराइएको हो । यसपटक हामी कुनै कमजोरी हुन नदिने प्रयासमा छौं । एमालेको भोट त बढेकै छ, राप्रपाको समेत मत थपिँदा सहज जित हुने भएकाले तालमेल गरिएको हो ।’

राप्रपाले भरतपुर महानगरमा आफ्नो पक्षमा ८ हजार मत रहेको दाबी गरिरहेको छ । हालैमात्र अध्यक्ष राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा राप्रपाले वृहत् आमसभा गरेको थियो । विक्रम पाण्डे आउने चुनावमा एमालेको सहयोगमा प्रचण्डविरुद्ध सांसदको उम्मेदवार बन्न चाहन्छन् । त्यसका लागि भरतपुर र माडीमा एमालेलाई सहयोग गर्न उनी तयार भएका हुन् । स्थानीय निर्वाचनको मिति घोषणा भएसँगै राप्रपाले चितवनका विभिन्न स्थानीय तहका वडा वडामा पार्टी कार्यालय स्थापना गरेर संगठन निर्माणलाई तीव्रता दिएको थियो ।