१२ बैशाख २०८१, बुधबार

मध्यरातमा पार्किङ गरेको बसभित्र युवायुवती भेटिएपछि…

bus

पार्कीङ गरिएको बस भित्र रहेका चारजना युवायुवतीलाई प्रहरीले मध्यरातमा पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीमा पार्कीङ गरेको बस भित्र मंगलबार मध्यरातमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरी सहित चारजना युवायुवती लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए ।

‘बस भित्र हल्ला भएपछि स्थानीयबाट प्रहरीलाई खबर आयो’, प्रहरी नायव उपरीक्षक बस्नेतले भने, ‘पछि वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टिमले पक्राउ गरेको हो ।’

प्रहरीका अनुसार पक्राउ परेका चारजना मध्ये एक जना सोही बसका सह–चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई जना युवतीहरुले भने आफूहरु मंगलबार मात्रै काठमाडौँबाट आएको प्रहरीलाई बयान दिएका जनाइएको छ ।

प्रहरी नायव उपरीक्षक बस्नेतले उनीहरुका अभिभावकलाई बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।