१६ चैत्र २०८०, शुक्रबार

मध्यरातसम्म नेपालगञ्ज उपमहानगरमा ७७९ जनाको विभिन्न पदमा उम्मेदवारी दर्ता

maddhyraat samma ummedwari darta garaundai

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको नेपालगञ्ज उपमहानगरमा ११७ वटा विभिन्न पदका लागि ७७९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपालगञ्ज उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्तामा अत्यधिक उत्साह देखिएको थियो भने मनोनयन दर्ता गर्ने कार्य सोमबार राति १२ बजेसम्म चलेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले मेयरका लागि १८, उपमेयरका लागि १०, २३ वटा वडा अध्यक्षका लागि १६६ जनाले मनोनयन पत्र दाखिला गर्नुभएको बताउनुभयो ।

उहाँले खुला सदस्यमा सबैभन्दा बढी ३०२ जना, महिला सदस्यका लागि १४९ जना र दलित महिला सदस्यका लागि १३४ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको बताउनुभयो ।

सहायक निर्वाचन अधिकृत चौलागाईंले वडामध्ये वडा नम्बर ५ मा सबैभन्दा बढी ११ जनाले मनोनयन दर्ता गराउनुभएको र सबैभन्दा कम वडा नम्बर १०, १२ र १३ मा ५–५ जनाले उम्मेदवारी दिनुभएको बताउनुभयो ।

ठूला दलहरुलाई उम्मेदवारी दर्ता गराउने समयमा उहाँहरु नपुग्दा र सबैजना एकै पटक पुग्दा मनोनयन दर्तामा ढिलाइ भएको र राति १२ बजेसम्म पनि दर्ता गर्नुपरेको निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले जनाएको छ ।

उपमहानगरको प्रमुखमा पाँच जनाले स्वतन्त्र उम्मेदवारी र १३ जनाले विभिन्न दलबाट उम्मेदवारी दिएका छन् । यसैगरी उपप्रमुखमा भने एक जनाको मात्र स्वतन्त्रमा उम्मेदवारी परेको छ भने नौ जनाले विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर उपप्रमुख नपाएपछि गठबन्धनबाट बाहिरिएको घोषणा गरेको नेकपा माओवादी केन्द्रबाट टङ्क धामीले मेयरमा र तारा रोकायाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोही प्रकारले राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

मङ्गलबार दावी विरोध गर्ने दिन रहेको भए पनि यो समाचार तयार पारुन्जेलसम्म कसैले पनि दावी विरोध नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।