१८ बैशाख २०८१, मंगलवार

प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रियसभा सञ्चालनकाे व्यवस्था हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

ganesh timeshana
फाइल फोटो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा नभएको बेलामा पनि राष्ट्रियसभालाई भूमिकासहित चलाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रियसभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रियसभा भएको बेलामा राष्ट्रियसभाबाट पनि बजेट पारीत गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

गत शुक्रवार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभामा उत्पति भएर राष्ट्रियसभामा आएका विधेयकहरुको साठ्ठी दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरु प्रतिनिधि सभामा थन्किएको बताउनुभयो । यसले गर्दा कानून निर्माण हुन नसकेको उहाँको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाले यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रियसभाले मेहनत साथ पारित गरेर पठाएका विधेयकहरु शून्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयहरुमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारीत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऐन, नियमावली अथवा आवश्यकता अनुसार संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभालाई कामकाजी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले यस सन्दर्भमा उपयुक्त समयमा विषयको उठान हुने र सम्बोधन पनि हुने बिश्वास व्यक्त गर्नुभयो ।