
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरूले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
बागलुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले निर्वाचनको समयमा दलहरूले गर्ने कार्यक्रमहरूमा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउनका लागि सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
निर्वाचनको समयमा मात्रै दलहरू सक्रिय हुने गरेको भन्दै उहाँले सधैँ जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताउनुभयो । विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरूको एउटै धारणा हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्न सके अस्पतालको खाँचो नहुने धारणा राख्नुभयो ।
त्यस्तै सङ्घीय सांसद डा. व्यक्त पाठकले स्वास्थ्यकर्मीको तलब वृद्धि हुन नसकेकाले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी टिकाउन कठिन भएको धारणा व्यक्त गर्नुभयो ।