यी युवा जसले अबैध वित्तिय संस्था खोलेर १८ सय जनाको करोडौं रकम हिनामिना गरे
नेपाल राष्ट्र बैंकको नक्कली इजाजत बनाएर ठगी गर्ने भरतपुरको ‘मेक्स मि ई–कमर्स’का सञ्चालक पुष्पराज तिमिल्सिना पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले तिमिल्सिना विरुद्ध संगठित अपराधमा मुद्दा चलाइएको बताए ।
उनले प्रहरीका तर्फबाट अनुसन्धानको सबै काम सकेर तिमिल्सिनालाई जिल्ला अदालत चितवनमा बुझाइएको र धरौटी बुझउन नसकेपछि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जानकारी दिए । अब अदालतले तिमिल्सिनाको मुद्दामा बहस चलाउने अदालतका श्रेस्तेदार इश्वर आचार्यले जानकारी दिए ।
तिमिल्सिनाले चितवनको भरतपुर महानगर– १० रिजालचोकमा अवैधरुपमा सञ्चालित मेक्स मि ई–कमर्स इन्टरनेशनलमा चितवनका १८ सय जनाले झण्डै ७ करोड रुपैयाँ बचत गरेका थिए । रकम फिर्ता पाइने हो की नाइ भनेर बचतकर्ताहरु अन्यौलमा रहेका छन् । ठगी गर्ने उद्देश्यले सञ्चालित उक्त ‘मेक्स मि’ मा बचत गर्नेहरुको रकम असुल उपर गराउने जिम्मा अदालतमा पुगेको छ ।
कुनकुन बचतकर्ताले कति बचत गरेका थिए भनेर अदालतमा जानकारी गराइएको बताउँदै एसपी अधिकारीले उक्त रकम असुल उपर गर्नका लागि अदालतमा बिगो दाबी गरिएको बताए । ‘मेक्स मि’ ले ठगी गरेको सूचना प्राप्त भएपछि चितवन प्रहरीले संस्थाका कार्यकारी निर्देशक रहेका सञ्चालक पुष्पराज तिमिल्सिनालाई मंसिर ६ गते पक्राउ गरेको थियो । तिमिल्सिनाविरुद्ध ठगी सम्बन्धी अपराधको जाहेरी परेको थियो ।
प्रहरीका अनुसार २७ वर्षीय तिमिल्सिना दैलेख आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका ७ बस्दै आएका थिए । उनलाई पक्राउ गरेपछि उक्त संस्थाले अवैध रुपमा बैंकिङ कारोबार गर्दै आएको खुलेको हो । ‘मेक्स मि’ विगत एक वर्षदेखि भरतपुरमा खुेलआम सञ्चालनमा रहेको थियो ।
एक वर्षसम्म नक्कली ईजाजत बनाएर काम गरिरहँदा पनि सम्बन्धित निकायले समयमै भेउ पाउन सकेनन् । सरकारी निकायबाट अनुगमन फितलो हुँदा ठग गर्नेहरुले मौका पाइरहेको भन्दै बचतकर्ताहरुले असन्तुष्ट व्यक्त गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई ‘मेक्स मि’ले झुक्याइ रहेको थियो । एसपी अधिकारीका अनुसार तिमिल्सिना आफैले नेपाल राष्ट्र बैकको नक्कली ईजाजत पत्र तयार गरेको खुलेको छ । आफै छाप हानेर आफै दस्तखत गरी तिमिल्सिनाले राष्ट्र बैंकको नक्कली ईजाजत पत्र बनाएको खुलेको हो ।
तिमिल्सिनाले कार्यालयको बोर्ड र बचत पासबुकमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त भनेर लेखेका थिए भने एउटा नक्कली ईजाजत पत्र पनि तयार पारेर भित्तामा टाँसेका थिए । जसले गर्दा सर्वसाधारण संस्थाप्रति पूर्ण विश्वस्त थिए । मेक्स मि ई–कमर्सले राम्रो व्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप संकलन र ऋण प्रवाह गर्दै आइरहेको थियो ।
‘मेक्स मि’ मा अन्य दुई जना पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि पछि अनुसन्धान गर्दा उनीहरुलाई पनि तिमिल्सिनाले भ्रममा राखेर फसाएको पाइएको एसपी अधिकारीले जानकारी दिए ।