
नेकपा एमालेका नेता महेश बस्नेतले केही दिनअघि ब्यूँताइएको युथ फोर्सका सदस्यहरुलाई तालिम दिन थालेका छन्। भक्तपुरको गुण्डुमा शनिबार काठमाडौँ उपत्यकाभित्रका युथ फोर्सका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको हो।
प्रशिक्षण कार्यक्रममा बोल्दै ओली निकट एमाले नेता महेश बस्नेतले युथ फोर्समा आवद्ध हुन चाहने कार्यकर्ताहरुका लागि कार्यक्रम आयोजना गरिएको बताए।
सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो। प्राणी उद्यान केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले आफूहरुले कानुनलाई हातमा नलिने बताए। ‘हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ’, उनले भने, ‘हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दु:ख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दु:ख दिँदैनौँ।’
उनले संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको फैसलाप्रति आक्रोश पोखे।
बस्नेतले सम्बोधनका क्रममा युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिए। उनले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउँदै सजग भएर अघि बढ्न पनि आग्रह गरे।
विगतमा माओवादी निकट वाइसीएलले जस्तो युथ फोर्सले चन्दा नउठाउने उनले दावी गरे। ‘हामी चन्दा उठाउँदैनौँ। निर्दोश व्यक्तिमाथि कहीँपनि दुःख दिँदैनौँ।’ तर आफूहरुमाथि कसैले प्रहार गरेको खण्डमा चुप लागेर नबस्ने उनले बताए।

सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी आन्दोलन चर्काउने घोषणा गर्दै युवा संघले केही दिनअघि युथ फोर्स ब्यूँताउने निर्णय गरेको थियो।
पहिलो दिनको प्रशिक्षणका क्रममा युथ फोर्सका सदस्यहरुलाई शारीरिक अभ्यास पनि गराइने भएको छ। आवश्यक प्रतिरक्षा तालिम दिएर युथ फोर्सका सदस्यहरुलाई परिचालन गरिने पनि उनले बताए। संघीय राजधानी उपत्यकाका उपस्थित सदस्यहरुलाई दिइने तालिमका क्रममा युथ फोर्सका संयोजक क्षितिज थेबेसहित उपस्थित छन्।
आजको प्रशिक्षणमा सहभागीहरुलाई बस्नेतले रातो टि-सर्ट बाँडिने बताए। उनले रातो टि-सर्ट र रिबनसहितका युथ फोर्सको पहिचान खुल्ने सामग्री बाँडिने उल्लेख गरे। उनले युथ फोर्सलाई हतियारको खाँचो नभएको बताउँदै कोही आइ लागेमा ढुंगो टिपेर हान्न पनि निर्देशन दिए।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि अखिल फोर्स बनाइसकेको छ। ओली पक्षीय युथ फोर्सले वरिष्ठ नेता नेपालको घर घेर्ने बताएपछि अखिल फोर्सले त्यसको प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ।
