
भारतको नयाँदिल्लीस्थित जामिया मिल्लिया इस्लामिक विश्वविद्यालयमा प्रदर्शन गरिरहेका विद्यार्थीहरुको भीडमा एक युवाले गोली चलाउँदा एकजना घाइते भएका छन् ।
प्रहरीकै अगाडि ती युवाले ‘हिन्दुस्तान जिन्दावाद’, ‘दिल्ली पुलिस जिन्दावाद’ जस्ता नारावाजी गर्दै हातमै हतियार बोकेर हिँडिरहेका थिए । प्रदर्शनकारी विद्यार्थीको अगाडि उभिएर उनले ‘ए जो आजादी’ भन्दै गोली चलाएको पत्रकार तथा प्रतक्ष्यदर्शीले बताएका छन् ।

जामिया मिल्लिया विश्वविद्यालयका विद्यार्थीहरु केही दिनदेखि नागरिकता कानुनको विरोध आन्दोलन गर्दैआएका छन् । सोही क्रममा प्रहरी उनीहरुलाई रोक्न त्यहाँ पुगेको थियो । अचानक ती युवाले हातमा पेस्तोल बोकेर प्रत्यक्ष गोली प्रहार गरेका थिए ।
गोली प्रहार गरेपछि पोस्तोल बोकेरै नारावाजी गर्दै प्रहरी भएतिर लम्किँदै थिए । प्रदर्शनकारी विद्यार्थीहरुले यस घटनालाई सरकारको घुसपैठ भएको बताएका छन् । प्रहरीले ती युवालाई तत्काल नरोकेकोमा उनीहरुले प्रहरीमाथि पनि प्रश्न उठाएका छन् ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरीको उपस्थिति थियो । तर उनीहरुको आँखै अगाडि ती युवा पोस्तोल बोकेर हिँड्दा प्रहरीले रोक्न सकेका थिएनन् । प्रदर्शनकारी विद्यार्थीहरु भने जामियाबाट महात्मा गान्धी स्मृति राजघाटतर्फ र्याली सहित जाँदै थिए । एजेन्सी