
कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १७ जनाको ज्यान गएको छ। मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ भने अधिकारीहरुले स्थानीय मानिसलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरसको प्रकोपलाई रोक्नको लागि अधिकारीहरुले यस्तो प्रतिबन्ध लगाएका हुन् । वुहान शहरबाट नै कोरोना भाइरस फैलिन सुरु गरेको थियो ।
यो भाइरसबाट अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सय ५० भन्दा बढी सङ्क्रमित भएका छन् ।
बिहीबार बिहानबाट लगाइएको यो प्रतिबन्धपछि शहरी बस, ट्रेन, सबसे, विमानस्थल, होटल र रेस्टुरेन्ट बन्द गरिएका छन् । वुहान शहर पूर्णरुपमा बन्द गरिएको छ । स्थानीयहरुलाई अत्यावश्यक काममा मात्र बाहिर निस्कन भनिएको छ ।
यसका साथै शहरका नगरपालिका सरकारले सूचना जारी गर्दै सार्वजनिक स्थानमा सबैलाई मास्क लगाउन सचेत गराएको छ ।
अहिलेसम्म चीनबाहेक अमेरिका, दक्षिण कोरिया, जापान र थाइल्याण्डमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
सि फुडु पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।
कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ ।
एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भाइरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्यौँ । यो सामान्य रुघा, खोकीको जस्तो लक्षण देखाउने भाइरस होइन, जुन चिन्ताको कुरा हो ।’