१८ बैशाख २०८१, मंगलवार

तनहुँमा सवारी चालकलाई सडकमै प्रशिक्षण

dtpolicce tanahu
फाइल फोटो

सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक साताको अवधिमा करीब एक हजार चालकलाई सडकमै प्रशिक्षण दिएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाको ट्राफिक व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत तनहुँका विभिन्न ठाउँमा ९४० वटा दुईपाङ्ग्रे सवारीका चालकलाई प्रशिक्षण दिइएको हो । यही पुस १९ देखि २५ गतेसम्म मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

रानाभाटका अनुसार व्यास नगरपालिकाको दमौली, घाँसीकुवा, आँबुखैरेनी गाउँपालिकाको एक्लेफाँट, म्याग्दे गाउँपालिकाको गुणादी, बन्दीपुर गाउँपालिकाको डुम्रे र शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा प्रशिक्षण सञ्चालन गरिएको छ ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत दुईपाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारीसाधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ । साथै सरोकारवाला निकायबीच ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिनेछ ।

प्रशिक्षणका क्रममा लेन अनुशासनको पालना गर्नुपर्ने, मादक पदार्थ सेवन नगरी सवारी चलाउनुपर्ने, सवारी चालक अनुमतिपत्र बोक्नुपर्ने, रातको समयमा हेडलाइट बाल्नुपर्ने, अनावश्यक हर्नको प्रयोग नगर्न, कलिला बालबालिकालाई सवारी साधन प्रयोग गर्न नदिने विषयमा दुईपाङ्ग्रे सवारी चालकलाई जानकारी गराइएको छ ।

“दुईपाङ्ग्रे सवारी चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढेपछि त्यसलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “सवारी चालकलाई सडकको सुरक्षित स्थानमा रोकेर पाँच मिनेट प्रशिक्षण दिन्छौँ ।”

एकपटकमा १५ देखि २० वटा दुईपाङ्ग्रे सवारी रोकेर प्रशिक्षण सञ्चालन गरिएको छ ।