
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुद्ध सत्तारुढ नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
संसद् विघटनको सिफारिस गरेको विरोधमा सत्तारूढ दल नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने भएका छन् ।
प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिने भन्दै तीन बजे माइतिघर मण्डलामा प्रदर्शन राखिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सह-संयोजक रञ्जित तामाङले जानकारी दिए।
‘तीन बजे माइतिघर मण्डलामा प्रदर्शन छ। म हरिवनमा छु। अहिले केही बेरमा प्रदर्शन हुन्छ। नालायक सरकारले गरेको असंवैधानिक कदमको विरोध गर्न निर्देशन गरेका छौं’, तामाङले भने।
दिउँसाे ३ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने युवा संगठनका नेता रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिनुभयो । प्रदर्शनको नेतृत्व युवा तथा विद्यार्थी संगठनले गरे पनि पार्टीका अरु नेता कार्यकर्ता पनि सहभागी हुने उहाँको भनाइ छ । देशैभरका जिल्ला सदरमुकाम र मुख्य सहरमा पनि प्रदर्शनको तयारी भएको दीपशिखाको भनाइ छ ।
यस्तै प्रधानमन्त्री ओलीको कदमको समीक्षा र आउँदाे रणनीति तय गर्न नेकपाका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन् । पार्टी संसदीय दलको कार्यालयमा सांसदहरु भेला भएका छन् । भेलाले कुनै निष्कर्ष निकाल्ने र सार्वजनिक गरिने एक सांसदले जानकारी दिएका छन् ।
नेकपाभित्रको विवाद चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक डाकेर संसद् विघटनको सिफारिस गरेका छन्।
यसैबिच नेपाल प्रहरीले सरकारको कदमविरुद्ध विरोध हुनसक्ने आँकलन गर्दै देशभरका आफूमातहतका निकायलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ भने सेनाको पीएसओ बैठक बसिरहेको छ।
पोखरामा विरोध, टायर बालियो-प्रहरीमाथि ढुंगा हानियो
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालनिकट विद्यार्थीले टायर बालेर विरोध जनाएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीको कदम अलोकतान्त्रिक भएको बताए । प्रहरीले भने थप सुरक्षा मगाएको छ ।
पोखरामा विभिन्न दलनिकटका संगठनहरुले पनि आज प्रदर्शन गर्ने तयारी गरेका छन् ।