१८ बैशाख २०८१, मंगलवार

अखाद्य अमिलो नष्ट

1607840281 Ig598

यहाँ कृत्रिमरुपमा अमिलो (चुक) बनाउने काम बढ्दै गएको छ । कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेन्जोएट र कृत्रिम बास्ना राखी चुक तयार गरिएको पाइएको छ ।

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा अखाद्य चुक नष्ट गरिएको छ । प्रहरीले कावासोतीबाट बरामद गरेको एक हजार २६० लिटर चुक घरेलु तथा साना उद्योग कार्यालयमार्फत नष्ट गरिएको हो । बरामद गरिएको चुक अमिलोको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । परीक्षणका क्रममा प्राकृतिक अमिलोबाट चुक बनाएको नपाइपछि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विक्रम सुवेदीले बताउनुभयो ।

कावासोती नपा–१३ निवासी टेकबहादुर विकले प्रदेश २–०३–००१–च ०५०० को गाडीमा दाङको तुलसीपुरका लागि गोरखा कालिका चुक उद्योग गैँडाकोट नपा–५ बाट उत्पादित चुक लैजाने क्रममा बरामद गरिएको थियो । ठूलोमात्रामा चुक बरामद भएपछि गुणस्तरमा शङ्का लागि परीक्षणका लागि भैरहवा पठाइएको थियो ।

गुणस्तर परीक्षण गर्दा विभिन्न रसायनबाट चुक बनाएको पाइएपछि नष्ट गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । गुणस्तर परीक्षण गर्दा उक्त खाद्य पदार्थ प्रचलनमा रहेको चुक अमिलो नभई कुनै खानयोग्य अमिलो, स्टार्च पाउडर र क्यारामेल रङ राखी तयार पारिएको चुक अमिलो जस्तै देखिने कृत्रिम वस्तु रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिनुभयो ।

उद्योगको अनुगमन गर्दासमेत कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेञ्जोएट र कृत्रिम बास्ना राखी उक्त चुक अमिलो तयार गरिएको पाइएको दाहालले बताउनुभयो । निबुवाको चुक भनी कृत्रिम चुक झुक्याएर बेच्ने गरेको पाइएको उहाँले बताउनुभयो । चुकमा कुनै लेबल नभएको, कमसल वस्तुको प्रयोग गरी उत्पादन गरेकाले नष्ट गरिएको अनुसन्धान अधिकृत दाहालले बताउनुभयो ।

गोरखा कालिका चुक उद्योगले खाद्य पदार्थको उत्पादन, विक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले खाद्य उद्योगको अनुज्ञापत्र लिनुपर्नेमा सो अनुमतिसमेत नलिएको पाइएको छ । उद्योगलाई आवश्यक कारवाहीका लागि प्रदेश कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ । शनिबार नष्ट गरिएको चुक अमिलो बजार मूल्यअनुसार रु पाँच लाखभन्दा बढीको छ ।

बजारमा कुनै पनि लेबल नलगाई कमसल खालका वस्तुका प्रयोग गरी चुक अमिलो बिक्री गर्ने धेरै पाइएकाले यसमा उपभोक्तासमेत सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नवलपुरका अध्यक्ष डोरमान गिरीले बताउनुभयो । कुनै पनि खाद्य वस्तु उपभोग गर्नुपूर्व लेबल, उत्पादन तथा प्रयोगको अन्तिम म्याद जस्ता सामान्य कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    सम्बन्धित समाचार...