१८ बैशाख २०८१, मंगलवार

कच्ची कटानसँगै पुग्यो यातायात बारेकोट

Jajarkot 1

बाढीपहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भए पनि वर्षायाममा ठाउँठाउँमा सडक भत्किएपछि यातायात सेवा अवरुद्ध भएको थियो । सदरमुकाम खलङ्गाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाकओपन’ भएलगत्तै बाढीपहिरोले बारेकोट छियाछिया भएको थियो । अवरुद्ध सडक सञ्चालनमा आएपछि सर्वसाधारण खुशी भएका छन् ।

नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको कच्ची कटान मर्मत भएसँगै यातायातका साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालिमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ । नलगाड नगरपालिकाको कालिमाटीबाट सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो ।

कालिमाटी हुँदै लैखमसम्म नलगाड नदीको तीरैतीर अर्को पहुँचमार्ग निर्माण गरी बारेकोट गाउँपालिका–७ लैखमसम्म सडक जोडिएको छ । अर्को कालिमाटी हुँदै खनटाकुराबाट सिर्के जोडेर बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सासँग सडक जोडिएको छ । यी सबै सडक क्षेत्रगतरूपमा मर्मत गरिएका छन् । नलगाड नदीको खारामा पुल निर्माण कार्य ढिलो हुँदा सो नदीको किनारैकिनार यातायातका साधन सञ्चालन गर्न सकिएको छैन । त्यस्तै सिर्कोबाट लिम्सासम्मको १३ किलोमिटर सडक गाउँपालिकाले आफैँले कच्ची निर्माण गरेको थियो ।

नलगाड जलविद्युत् आयोजना बाधस्थल अर्थात् सक्ला ध्यापाटाकुराबाट लिम्सासम्मको १२ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोडको बोलपत्र आह्वान छ । गाउँपालिकाको ५० प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत बजेटबाट स्तरोन्नतिको काम शुरु गर्न लागिएको हो । गाउँपालिकाले रु चार करोड ५० लाख बजेटबाट आफ्नो क्षेत्रको सडक निर्माण गरी अस्थायी ‘ट्रयाक’ खोलेको थियो । कर्णाली प्रदेशकै सामरिक महत्वको नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट) निर्माणका लागि डिपिआरको कामदेखि अन्य विकास निर्माणको कामलाई यो सडकले विशेष महत्व दिइएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको विशेष महत्वको रूपमा रहेको यो आयोजना निर्माण गर्न सहज हुने पहिलो मार्ग नै यो सडक रहेको सिंहको भनाइ छ । जुम्ला र डोल्पाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिका जडीबुटीको भण्डारको रुपमा परिचित छ । माथि नलगाड नदीको उद्गमस्थलसहित अग्ला हिमाल र तल नलगाड जलविद्युत् आयोजना निर्माणस्थल भएका कारण यसको महत्व अन्य स्थानीय तहको भन्दा फरक छ ।

सडक सञ्जाल नहुँदा खाद्यान्न, निर्माण सामग्रीदेखि अन्य विभिन्न वस्तु ढुवानीमा समस्या भोग्दै आएका यहाँका स्थानीयवासी सडक निर्माणसँगै सहजता आएको भन्दै खुशी भएका छन् । पुर्खौँदेखि पिठ्यूँमा आफूभन्दा बढी तौलका भारी, नाम्लोको सहायताले बोक्दै बारेकोट लैजाने र बाहिर पठाउने काम गर्दै आएका तीन हजारभन्दा बढी घरधुरीहरु सडक सञ्जालमा जोडिएसँगै दुःखका दिन गएको प्रतिक्रिया दिन थालेका छन् ।

घोडा, खच्चडको भरमा दैनिक आवश्यकतासँग जुझ्दै आएका सर्वसाधारण अब गाडीसँग मितेरी गाँसेर दैनिक काम कारवाही सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले अन्य सहायक सडक निर्माणको काम तीव्र पारेको बताइएको छ । जुम्लासँग सडक जोड्न लागि काम तीव्र पारिएको छ । कोरोना त्रासका बीचमा विकास निर्माणको कामलाई गति दिइएको गाउँपालिकाले जनाएको छ । बिरामी हुँदा होस् वा अन्य कुनै समस्या परेमा दुई दिन लगाएर सदरमुकाम आउने यहाँका स्थानीयवासी अहिले एक दिनमै सदरमुकाम आएर जान सक्ने अवस्था सिर्जना भएको छ ।

गाउँपालिकामा विद्युतीकरणका लागि सडक निर्माण भएकै ठाउँबाट पोल गाडेर तार तान्ने काम केही दिनमै शुरु हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ ।

    सम्बन्धित समाचार...