
भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ ।
मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव शुक्रबार साँझ भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार घटनास्थलमै रहेकाले तत्काल केही भन्न नसक्ने बताए । स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।
घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।
यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।
‘हामी सबै घटनास्थलमै छौं । अहिले केही भन्न सक्ने अवस्था छैन्’,उनले भने । प्रहरीले हत्याको आशंका गरेको छ ।
प्रहरीका अनुसार सुदीप अधिकारी, उनकी श्रीमती सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।