नेपाली सेनाले छाङरुका नागरिकका लागि घाँटीबगरमा २५० मिटर ट्र्याक खोल्यो
भारतको बाटो भएर पुनः नेपाल प्रवेश गर्नु पर्ने छाङरुका बासिन्दाको बाध्यता हटाउनका लागि अहिले नेपाली सेनाले दार्चुलाबाट छाङरुसम्म पुग्ने बाटो बनाइरहेको छ ।
दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण नेपाली सेनाले सर्वसाधारणका लागि ट्याक खोल्ने कार्य गरिरहेको छ ।
सेनाले गएको जेठ ८ गतेदेखि दुई मिटर चौडाइको घोडेटो बाटो बनाउने काम थालेकोमा अहिलेसम्म २५० मिटरको काम सकिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।
भौगोलिक रुपमा विकट घाँटीबगर–तिंकर सडकखण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो ।
अहिले थप ३० मिटरमा काम भइरहेको उनले बताए । कुल ४५० मिटरको सो घोडेटो बाटो अहिलेकै गतिमा काम भयो र मौसमले साथ दिएमा एक महिना भित्र पूरा हुने प्रवक्ता पौडेलले जानकारी दिए ।
छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा रहेकाे ठूलाे चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियाे ।
छाङरुबाट दार्चुला आउने बाटो नहुँदा स्थानीय बासिन्दा भारतको धार्चुला गएर आउनु पर्ने बाध्यता कायम छ । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँमा कम्तीमा १८० घरपरिवार छन् । यो बाटो बनेपछि पैदल यात्राका लागि छाङरुका बासिन्दाले भारतको बाटो प्रयोग गर्नु पर्ने छैन ।
भौगोलिक रुपले अति कठीन चट्टानयुक्त घाँटीबगर–तिंकर सडकखण्डमा ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले सो भन्दा पहिले स्थानीयका लागि घोडेटो बाटो बनाइरहेको हो । स्थानीय मौरी भिरमा चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण छाङरुका बासिन्दा नेपाली भूमि हुँदै सदरमुकाम पुग्न सक्ने अवस्था छैन ।
सेनाले गाेरेटाे बनाएसँगै याे समस्या हल हुनेछ ।
अबको एक महिनामा घोडेटो बाटो बन्ने र त्यसपछि सो समस्या हट्ने प्रवक्ता पौडेलले बताए । घोडेटो बाटो बनाइसेकपछि सेनाले दार्चुला–तिंकर खण्डको ८७ किलोमिटरमा ट्रयाक खोल्न थाल्ने छ ।
सरकारले दार्चुला–तिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने लक्ष्य लिएको थियो ।
मन्त्रिपरिषद बैठकले यो सडकको कुल १३४ किमीमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमी घाँटीबगर–टिंकर खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो ।
आर्थिक वर्ष ०६५/६६ बाट निर्माण सुरु भएको यस सडकको काम लामो समयदेखि अलपत्रजस्तो थियो । त्यसबीच १५ वैशाख २०७७ बाट सडक निर्माणमा सेनालाई परिचालन गर्ने सरकारले निर्णय गरेको थियो ।
कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रलाई मिचेर भारतले सडक बनाएपछि जनआक्रोश तीब्र भएकै वेला सडक निर्माणका लागि नेपाली सेनाको एक सेक्सन प्लस फौज ८ जेठमा घाँटी बगर गएको थियो । त्यसक्षेत्रमा प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले असार पहिलो साता निरीक्षण भ्रमण पनि गरिसकेका छन् ।
चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँमा करिब १८२ घरपरिवार छन्
नेपाल सरकारले हालै लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नक्सा सार्वजनिक गरेपछि छाङरुमा सुरक्षा पोस्ट स्थापना भएको थियो ।
तस्बिर : नेपाली सेना