२० कार्तिक २०८२, बुधबार

विल्सनलाई डेब्यु निर्देशनमै फ्लपको ट्याग

wilsonbikram rai 1

काठमाडौं । कलाकारका रूपमा लोकप्रिय विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ घरेलु बक्सअफिसमा असफल भएको छ । धिरज मगर र मिरुना मगरको चर्चित जोडीलाई लिएर राईले पहिलो पटक निर्देशनमा हात हालेका थिए, तर दर्शकले अपेक्षित साथ नदिँदा उनको डेब्यु निर्देशन फ्लपको सूचीमा परेको छ ।

फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि दर्शक हलसम्म तान्न नसक्दा बक्सअफिसमा कमजोर प्रदर्शन गर्‍यो । ‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको यस फिल्ममा धिरज र मिरुनासँगै दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङ्देन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

‘बक्सअफिस’ का अनुसार कात्तिक १५ गते बेलुकी ११ बजेर ५९ मिनेटसम्म ‘मैझारो’ लाई जम्मा ३३ हजार ९ सय ४२ जनाले मात्र हेरेका छन् । यस अवधिसम्म फिल्मले जम्मा एक करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ ।

फिल्मको कमजोर प्रचार–प्रसारका कारण यसले घरेलु बजारमै दर्शक आकर्षित गर्न सकेन । त्यसमाथि, नेपाली फिल्मको लागि ठूलो बजार मानिने अस्ट्रेलिया र अमेरिका जस्ता देशमा पनि ‘मैझारो’ प्रदर्शन हुन नसक्दा यसको व्यापारिक स्थिति झनै कमजोर बनेको छ ।

विल्सन बिक्रम राईले अभिनयमा स्थापित नाम भए पनि, निर्देशनमा गरेको पहिलो प्रयासले अपेक्षित सफलता दिलाउन सकेन । अब उनले आगामी प्रोजेक्टमार्फत यो असफलताको छायाबाट बाहिर निस्कने प्रयास गर्ने अनुमान गरिएको छ ।

    सम्बन्धित समाचार...