
पेरिस सेन्ट जर्मेन (पिएसजी)का फ्रान्सेली स्टार खेलाडी उस्मान डेम्बेलेले प्रतिष्ठित ब्यालोन डि’ओर अवार्ड जितेका छन्। उनले यो अवार्ड पहिलो पटक जितेका हुन्।
२८ वर्षीय डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।
लिग वानमा २१ गोलसहित संयुक्त शीर्ष स्कोरर बनेका उनी च्याम्पियन्स लिग तथा फ्रेन्च लिग दुवैमा ‘प्लेयर अफ द इयर’ बनेका थिए। क्लब वर्ल्ड कपमा पनि उनले टोलीलाई फाइनलसम्म पुर्याए। जहाँ पिएसजी चेल्सीसँग पराजित भएको थियो।
अवार्ड जितेका उनी भावुक बने। उनले यस उपलब्धिलाई असाधारण भन्दै पीएसजी, प्रशिक्षक, टोलीका साथी र परिवारलाई धन्यवाद दिए। ‘यो ट्रफी व्यक्तिगत भए पनि यसलाई हामी सबैले सँगै जितेका हौं,’ उनले भने।
सन् २०२४-२५ मा उनले फ्रान्सबाट खेलेको ७ खेलमा २ गोल गरेका छन्। उनी यो अवार्ड जित्ने छैटौं फ्रेन्च खेलाडी हुन्।
स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमातीले महिला ब्यालोन डि’ओर तीन पटक जित्ने पहिलो खेलाडी बनेर इतिहास रचेकी बनाएकी छिन्।
२७ वर्षीया बोनमातीले यो पटक अवार्ड जित्दा उनकी स्पेनिस खेलाडी तथा आर्सनलकी विङर मारियोना काल्डेन्टे दोस्रो स्थानमा रहिन्। बोनमातीले यसअघि पनि २०२३ र २०२४ मा पनि यो अवार्ड जितेकी थिइन्।
पिएसजी प्रशिक्षक लुइस एनरिके ‘कोच अफ द इयर’ बने। पिएसजीको सफलतामा उनको योगदान महत्वपूर्ण रहयो। साथै उनले गत डिसेम्बरमा डेम्बेलेलाई दायाँ विङबाट सेन्टर फरवार्डमा सार्ने रणनीतिक निर्णय गरेका थिए। यसपछि उनले लगातार ३० गोल गरेका थिए।
बार्सिलोनाका १८ वर्षीय लामिन यामलले ‘कोपा ट्रफी’ जिते। २१ वर्षमुनिको उत्कृष्ट खेलाडीको अवार्ड लगातार दोस्रो वर्ष जित्ने पहिलो खेलाडी बने।