१ आश्विन २०८२, बुधबार

रियल म्याड्रिडको च्याम्पियन्स लिगमा विजयी शुरुवात

real

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सीमित भएर खेल अन्त्य गर्नुपरे पनि रियलले फ्रेन्च क्लब मार्सेलाई २–१ ले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमै रियलले ठूलो धक्का व्यहोर्नुपर्‍यो। डिफेन्डर ट्रेन्ट एलेक्जान्डर–अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण मैदान छाड्न बाध्य भए। उनको स्थानमा मैदानमा आएका डानी कार्भाहालले ७२औँ मिनेटमा गोलकिपर जेरोनिमो रुलीसँग विवाद गर्दा रातो कार्ड खाँदै रियललाई १० खेलाडीमा सीमित बनाए।

मार्सेलाले २२औँ मिनेटमा अग्रता लिएको थियो। मेसन ग्रिनवुडले बल खोसेर टिमोथी वेहालाई पास दिएपछि उनको प्रहारलाई रियलका गोलकिपर थिबो कोर्टोइसले रोक्न सकेनन्। तर, त्यसको ६ मिनेटमै जेफ्री कन्डोग्बियाले रोड्रिगोलाई लडाएपछि पाएको पेनाल्टीलाई केलियन एम्बाप्पेले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए।

मार्सेका स्ट्राइकर पिएर–एमरिक ओबामेयाङले दुई पटक गोल गर्ने सुनौलो मौका पाए। तर, पहिलो प्रयास बाहिरियो भने दोस्रो प्रयासलाई कोर्टोइसले शानदार बचाउ गरे।

१० खेलाडी भएपनि रियलले आक्रामक खेल प्रदर्शन जारी राख्यो। अन्ततः ८१औँ मिनेटमा भिनिसियस जुनियरलाई रोक्ने क्रममा मार्सेका फाकुन्डो मेडिनाले ह्यान्डबल गरेपछि रियलले दोस्रो पेनाल्टी पायो। एम्बाप्पेले सो पेनाल्टीमा पनि गोल गर्दै टोलीलाई २–१ को जित दिलाए।

यो जितसँगै १५ पटकको युरोपियन च्याम्पियन रियलले यस सिजनको यात्रा उत्कृष्ट ढंगले सुरु गरेको छ। प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा रियल गत सिजनको कमजोर प्रदर्शन सुधार्ने लक्ष्यमा छ। गत वर्ष रियल ११औं स्थानमा रहेर प्लेअफ खेलेको थियो।

रियलले अबको खेल ३० सेप्टेम्बरमा कजाकिस्तानको क्लब कायराटविरुद्ध खेल्नेछ। त्यस्तै, मार्सेले आयाक्ससँग भिड्नेछ।

च्याम्पियन्स लिग नतिजा – १६ सेप्टेम्बर २०२५

एथलेटिक क्लब ०–२ आर्सनल

पिएसभी आइन्डोभन १–३ युनियन सेन्ट–गिलोइज

युभेन्टस ४–४ बोरुसिया डर्टमुन्ड

रियल म्याड्रिड २–१ मार्से

बेन्फिका २–३ काराबाग

टोटेनहम १–० भिल्लारियल

    सम्बन्धित समाचार...