
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारको लागि फेरि गृहकार्यमा जुटेकी छिन् । हिजो तीन जना मन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट उनी आज वरिष्ठ नेत्र रोग चिकित्सक डा. सन्दुक रुइतलाई भेट्न तिलगंगा आँखा प्रतिष्ठानमा पुगेकी हुन् ।
सुशीला कार्की प्रधानमन्त्री बनेदेखि नै आफ्नो टिममा चर्चित अनुहार समेट्ने प्रयास गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।
तिलगंगाबाट प्रधानमन्त्री कार्कीलाई विदाई गर्ने बेलामा डा. रुइतलाई सरकारमा सहभागी हुन लाग्नुभएको हो भनेर पत्रकारले सोधेका थिए ।
डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए । उनले भने, ‘विरामी कसले हेरिदिन्छ ? ।’
डा. रुइतले हालै पत्रकार सम्मेलन गरेर बारबरा फाउण्डेशनको तर्फबाट हामी नेपालसँग अहिले कुनै सम्बन्ध रहेको स्पष्ट पारेका थिए । भूकम्पको बेलामा भने आफूहरुले हामी नेपाललाई अफिस सेयर गर्न दिएको उनको भनाई थियो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन् ।