२७ भाद्र २०८२, शुक्रबार

माफी माग्दै गगन थापाले भने- हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन

gagan thapa

काठमाडौं । भदौ २३ गतेको अकल्पनीय घटनालाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका तर्फबाट सार्वजनिक माफी मागेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै थापाले पार्टीको अनुहारमा दाग लागेको र त्यसलाई पुछ्नुपर्ने बताएका हुन्।

‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो,’ उनले भने, ‘हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुछ्नुपर्छ।’

उनले भदौ २४ गते पार्टीका कार्यालय र सम्पदामा ठूलो क्षति भएको पनि उल्लेख गरेका छन्। पार्टी सभापतिदेखि सयौं नेतामाथि भौतिक आक्रमण भएको र कार्यकर्ताका घर तथा सम्पत्तिमा आगजनी र तोडफोड भएको उनले बताए। यसलाई स्वाभाविक आक्रोशका रूपमा स्वीकार गर्नुपर्ने भए पनि नियतवश भएका घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।

महामन्त्री थापाले नयाँ सरकार बनेपछि भदौ २३ र २४ दुवै दिनका अमानवीय घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने कांग्रेसको माग रहने बताए।

थापाले देशलाई वर्तमान संकटबाट बाहिर ल्याउन कांग्रेसले पहल गरिरहेको जानकारी दिए। विगतमा घाउचोट बिर्सेर माओवादीसँग हात मिलाएको उदाहरण दिँदै उनले अहिले पनि यस्तै पहलकदमी आवश्यक रहेको बताए।

‘यो बेलामा जेनजी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अघि बढ्न सक्छ,’ उनले भने। आन्दोलनकारीले छानेको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार बनाउन कांग्रेस तयार रहेको र त्यसका लागि वातावरण बनाइरहेको उनको भनाइ छ।

महामन्त्री थापाले कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने बताएका छन्। उनले तीब्र दलीयकरणबाट नेपाली समाजलाई बाहिर निकाल्ने कांग्रेसको लक्ष्य रहेको उल्लेख गरे।

पार्टीभित्रका अनावश्यक संस्था अब नराख्ने र गुटउपगुटको अन्त्य गरिने भन्दै उनले पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै साथीहरूलाई उत्तेजना फैलाउनुभन्दा सबैलाई जोड्ने पहल लिन आग्रह पनि गरेका छन्।

    सम्बन्धित समाचार...