
काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समर्थन जनाएका छन्।
जेनजी प्रतिनिधिहरूले बुधबार दिउँसो प्रधानसेनापति अशोक सिग्देलसँग भएको भेटमा कार्कीलाई नयाँ नेतृत्वका लागि प्रमुख उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई मेयर बालेनले पनि अनुमोदन गरेका हुन्।
युवाहरुले दिनभर सामाजिक सञ्जाल, विशेष गरी डिस्कर्डमार्फत सम्भावित नेतृत्वबारे छलफल गरेका थिए। त्यही क्रममा कार्कीको नाममा बलियो समर्थन देखिएको हो। केही युवाले काठमाडौं महानगरका मेयर बालेन शाहलाई समेत नेतृत्वमा अघि सार्नुपर्ने सुझाव दिएका थिए। तर, उनी प्रत्यक्ष सम्पर्कमा नआएको भन्दै कतिपयले असन्तुष्टि प्रकट गरेका थिए। मंगलबार राति उनले सामाजिक सञ्जालमार्फत जेनजेडलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन भनेका थिए।
बुधबार बिहान जेनजेड प्रतिनिधिहरू जंगीअड्डा पुगेपछि करिब १५ जनाभन्दा बढी सहभागी भएकाले सेना प्रमुख सिग्देलले पहिले आपसी सहमति बनाएर आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक बसेको थियो।
बैठकमा केही समूहले गणतन्त्रविरुद्धको प्रस्ताव पनि राखेका थिए। सो कारणले रक्षा बमसहितको एउटा धार बाहिरिएको बताइएको छ। तर अन्ततः छलफलमा सहभागी अधिकांश प्रतिनिधिहरूले सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति गरेका छन्।