
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफू सरकार बनाउने वा सरकारमा जाने कुनैपनि दौडमा नरहेको स्पष्ट पारेका छन् । अन्तरिम सरकार बनाउने वा कसरी अघि बढ्ने भनेर नेपाली सेनाले छलफल थालेको सन्दर्भमा रविले आज भिडिओ सन्देश जारी गर्दै यस्तो स्पष्टता पारेका हुन् । उनले आफू र रास्वपालाई कुनैपनि राजनीतिक लाभ नचाहिएको बताए ।
उनले आफू कारागारबाट आँफै ननिस्किएको समेत स्पष्ट पारेका छन् । कारागारले नै सुरक्षा दिन नसकिने भनेपछि आफू कारागार प्रशासनले थमाएको पत्र लिएर निस्किएको लामिछानेको स्पष्टोक्ति छ । उनले भने,”कारागारबाट म निस्किन चाहेको होईन, सुरक्षा दिन नसक्ने भनेपछि निस्किएको हुँ ।”
आफूलाई कष्टडीमा लिनको लागि आईजिपीहरुलाई फोन गरेको पनि उनले जानकारी दिए । तर, उनीहरुले आँफै सुरक्षित बस्नुहोस भनेपछि न्यायिक निकायका व्यक्तिलाई सम्पर्क गरेको पनि उनले स्पष्ट पारे ।
अब सरकार बनाउने सवालमा आफ्नो नाममा विवाद गर्न जरुरी नभएको उनको भनाई छ । उनले भने,”म सरकार बनाउने र सरकारमा जाने कुनै पनि दौमडमा छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन । म यो रेसमा छैन । देश, लोकतन्त्र, नागरिक सर्वोच्चता रहनुपर्छ । यो आन्दोलन जेन जी को हो । अबको नेतृत्व उसैले तय गरोस ।”