१९ कार्तिक २०८२, मंगलवार

झण्डै १५ करोडको क्षतिपुर्तीबाट धीरज मगरलाई राहत

Dhiraj

अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीच देखिएको विवाद अन्ततः मिलापमा पुगेको छ। चलचित्र निर्माता संघको रोहबरमा बुधबार भएको छलफलपछि दुवै पक्षले तोकिएको अवधिभित्र छायांकन अघि बढाउने सहमति गरेका छन्।

यसअघि, मल्टिमेट प्रा.लि.का तर्फबाट निर्माता कमलबहादुर आलेले धीरजले निर्धारित तालिका अनुसार छायांकनमा उपस्थित नभएको भन्दै १४ करोडभन्दा बढी क्षतिपूर्ति दाबी गर्दै २ भदौमा निर्माता संघमा उजुरी दर्ता गरेका थिए।

निर्माताको दाबी अनुसार, धीरजले १६ दिन मात्र छायांकनमा सहभागिता जनाए तर सहमतिअनुसार बाँकी २८ दिन उपस्थित भएनन्। यसैबीच १० लाख रुपैयाँ पारिश्रमिकमध्ये ४ लाख रुपैयाँ अग्रिम बुझिसकेपछि पनि सुटिङमा नगएको आरोप उजुरीमा गरिएको थियो।

संघको पहलमा भएको छलफलपछि दुवै पक्षले आगामी अक्टोबर ५ देखि नोभेम्बर १५ सम्म तोकिएको छायांकन अवधिमा धीरज उपस्थित हुने सहमति गरेका छन्। यदि निर्धारित तालिकामा कुनै परिवर्तन भएमा आपसी छलफलमार्फत समाधान गर्ने समझदारी भएको संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।

‘ऐरी’को छायांकन हालै झण्डै एक महिना ढोरपाटन क्षेत्रमा सम्पन्न भएको थियो। करिब एक वर्षसम्म चल्ने भनिएको छायांकन बीचमै रोकिए पनि सहमति भएपछि फिल्म पुनः सुटिङतर्फ अघि बढ्ने भएको छ।

image

    सम्बन्धित समाचार...