१६ मंसिर २०८२, सोमबार

‘परालको आगो’बाट बाहिरिए जितु नेपाल

Jitu Nepa

काठमाडौं । अभिनेता जितु नेपाल फिल्म ‘परालको आगो’ बाट बाहिरिएका छन् । दसैँको फूलपाती अगाडि नै छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्मबाट उनी अनुबन्ध भएको करिब एक महिनापछि बाहिरिएका हुन् । 

आन्तरिक रुपमा केही बुँदामा सहमति नजुटेपछि जितुले फिल्म छाडेका हुन् । यद्यपि, उनले भने आफूले फिल्म छाडेको विषयमा स्पष्ट पारेका छैनन् । 

जितुले अहिले यस्तो कुनै विषय नै छलफलमा नरहेको भन्दै फिल्मबाट बाहिरिएको दाबी स्वीकार गरे । तर, निर्माण युनिटसँगको संवादका आधारमा प्राप्त जानकारी अनुसार, छायांकन तालिका र भूमिका लगायतका केही महत्वपूर्ण पक्षमा कुरा नमिलेपछि अभिनेता नेपालले फिल्मबाट टाढिनु परेको बुझिएको छ ।

फिल्मका एक निकट स्रोतका अनुसार छायांकन दशैँको फूलपातीअघि नै सुरु गर्ने तयारीमा निर्माणपक्ष जुटिरहेको छ । तर, उक्त मितिमा आफू व्यस्त रहेको भन्दै जितुले समय दिन नसक्ने बताएपछि विकल्प खोज्ने प्रक्रिया अघि बढाइएको हो । हाल निर्माण युनिटले जितुले निर्वाह गर्ने भनिएको भूमिकाका लागि अन्य कलाकारहरूसँग सम्पर्क गरिरहेको बुझिएको छ ।

यस फिल्मका निर्माता सुशील पोखरेलले जितुले करिब-करिब फिल्म छोडेको बताए। उनले आपसी समझदारीमा नै जितुले फिल्म छोडेको जानकारी दिए।

जितुले फिल्म छाडेको हो भन्ने प्रश्नमा उनले भने,‘उहाँले छोड्नु भएको साँचो हो। उहाँ र हामीबिच केही दिनअघिको छलफलबाट बाहिरिनु भयो। अहिले अर्को कलाकारको खोजीमा छौँ।’

‘परालको आगो’ फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्दैछन् । फिल्ममा गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा प्रमुख भूमिकामा फाइनल भइसकेका छन् ।

फिल्मको औपचारिक घोषणा हुँदा २०८२ सालको दशैंको फूलपातिमा नै प्रदर्शन गर्ने योजना बनाइएको थियो । तर, छायांकनमा ढिलाइ भएपछि उक्त मिति रद्द गरिएको छ । यद्यपि, निर्माणपक्षले फिल्म यही वर्षभित्रै रिलिज गर्ने लक्ष्य राखेको जनाइएको छ ।

जितु नेपालको बाहिरिँदा फिल्मको कलाकार संरचनामा केही फेरबदल आउन सक्ने देखिएको छ । अहिले निर्माण टिम वैकल्पिक कलाकार छनोट र नयाँ कार्यतालिकामा जुटिरहेको छ ।

    सम्बन्धित समाचार...