काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो ।
प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगिसकेको छ । आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने निर्णय निर्णय गरेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरी कार्यालयहरूले पक्राउ परेका व्यक्तिको तस्बिरसहितको विवरण मिडियामा उपलब्ध गराउँदै आएका थिए । कतिपय अवस्थामा अदालतबाट दोषी प्रमाणित नहुँदै तस्बिर सार्वजनिक हुँदा व्यक्तिको गोपनीयता तथा सामाजिक प्रतिष्ठामा आँच पुग्ने गम्भीर चिन्ता उठाइएको थियो ।
मानव अधिकारकर्मीहरूले समेत लामो समयदेखि प्रहरीले अनुचित रूपमा तस्बिर सार्वजनिक गर्ने कार्यप्रति आलोचना गर्दै आएका थिए । अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार पनि अदालतको अन्तिम निर्णय नभएसम्म कुनै व्यक्तिलाई दोषी ठहर गर्न नपाइने प्रावधान रहेको छ ।
प्रहरीले भने यो नीति लागू गरेपछि आपराधिक अनुसन्धानमा कुनै असर नपर्ने र आवश्यक विवरण अदालत वा सम्बन्धित निकायलाई मात्र उपलब्ध गराउने बताएको छ ।