२७ असार २०८२, शुक्रबार

आज मौद्रिक नीति सार्वजनिक हुने

bisooo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुहुनेछ ।

मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ । बैठक टुंगिएपछि आजै दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैकले जनाएको छ । अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याउन लाग्नु भएको हो । बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।

नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेल निकै उदार बन्ने सम्भावना देखिएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुँदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन सकेको छैन । आर्थिक गतिविधि चलायमान बन्न सकेको छैन । ऋणीहरुको ऋण तिर्ने क्षमतामा ह्रास आइरहेको छ । ऋणीले समयमै साँवा ब्याज तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको पनि खराब कर्जा बढिरहेको छ । यस्तो अवस्थामा ऋणी र बैंक तथा वित्तीय संस्था दुवै पक्षलाई राहत हुने गरी मौद्रिक नीति खुकुलो गर्ने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले हिजो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गर्नुभएको थियो । हिजै साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग पनि उहाँले छलफल गर्नुभएको थियो । त्यसपछि हिजै साँझ नै तयारी सञ्चालक समितिको बैठक बसेको थियो ।

    सम्बन्धित समाचार...