२१ असार २०८२, शनिबार

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

515670468 1179262457563466 3833573442844439163 n

काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेसियाको युकेएम ओभलमा बुधबार सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपाल अपराजित च्याम्पियन बनेको हो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। नेपालको ब्याटिङमा सुरुआत खासै राम्रो भएन। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजगाईं २० रनमा आउट भए। त्यसपछि रौनक श्रीवास्तव खाता नखोल्दै पभेलियन फर्किए।

नेपालले ४० रनमै ३ विकेट गुमाएको थियो। त्यसपछि प्रसिद्ध जैशीले १७ रन बनाए भने सुगम बुढाथोकीले १ रन जोड्न सके। शुभम खनालले १९ रन बनाए, तर नेपाल नियमित अन्तरालमा विकेट गुमाइरहेको थियो। सचिन णट्ट १ रनमा र कप्तान विपिन प्रसाद शर्मा शून्य रनमा आउट हुँदा टोली दबाबमा परेको थियो।

तर अन्त्यतिर जोय थापा (२४ अविजित) र अभय यादव (१० अविजित) ले संयमित ब्याटिङ गर्दै नेपाललाई २ विकेटको रोमाञ्चक जित दिलाए।

यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै अलआउट भयो। उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने कप्तान रियान नायकले १५ रन जोडे। वेदान्स गुप्ता १२ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।

नेपालका लागि सुशील बहादुर रावल र अभय यादवले समान ३ विकेट लिए भने शुभम खनालले २ र कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए।

नेपालले घरेलु टोली मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो। यी दुई टोली समूह चरणमा पनि आमने–सामने भएका थिए, जसमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो।

गत संस्करणमा पनि नेपालले मलेसियालाई २२१ रनले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि नेपालले शानका साथ उपाधि रक्षा गर्न सफल भयो।