
काठमाडाैं, १७ असार । अहिले एउटा युरोपेली देशमा क्रान्तिको खबर आएको छ ।
सर्बियाको विद्यार्थी क्रान्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ८ महिनाअघि सर्बियाको रेलवे स्टेशनमा भएको दुर्घटनाबाट निस्केको विरोध अहिले विद्रोहको आगोमा परिणत भएको छ ।
सर्बियाका राष्ट्रपतिलाई अपदस्त गर्न हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् र सर्बियाका सडक गृहयुद्धको मैदान बनेका छन् । युरोपको शान्तिप्रिय देश अहिले रगतले रातो भएको छ ।
सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् । ठ्याक्कै त्यस्तै घटना सर्बियामा भइरहेको छ, जुन एक वर्ष पहिले बंगलादेशमा भएको थियो। प्रहरी र आन्दोलनरत विद्यार्थीबीच झडप भइरहेको छ । सर्बियामा ‘कू’को नारा गुन्जिरहेको छ ।
एकातिर सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिकसँग आक्रोशित विद्यार्थीहरूको भीड, अर्कोतर्फ प्रहरीले लाठी, हतकडी र अश्रुग्याँस प्रहार गरेको छ । सर्बियाका सडकहरू गृहयुद्धको रणभूमि बनेका छन्। के पुटिनको नजिक सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकको १२ वर्ष पुरानो साम्राज्य ध्वस्त हुन लागेको हो ? के अलेक्जेन्डरको शासन पनि शेख हसिना जस्तै समाप्त हुन गइरहेको छ ? प्रश्न उठिरहेको छ । आन्दोलनकारीले यसलाई स्वतन्त्रताको लडाइँ भन्दै नाराबाजी गरिरहेका छन् ।
भुकिकले जान्नु पर्छ कि सर्बियामा ८ महिनादेखि विद्यार्थी आन्दोलन चलिरहेको थियो तर अहिले यो आन्दोलन नियन्त्रण बाहिर गएको छ । सर्बियामा गृहयुद्धको यो हुंकार ८ महिनाअघि भएको दुर्घटनापछि निस्किएको थियो । खासमा १ नोभेम्बर २०२४ मा नोभि साद शहरको एक रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु भएको थियो।
यो घटनाले सर्बियाली सरकारको लापरबाही र भ्रष्टाचार विरुद्ध आक्रोश जगायो। यी आन्दोलनको नेतृत्व देशका विश्वविद्यालयका विद्यार्थीहरूले गरिरहेका छन् । अब विद्यार्थीहरूको नेतृत्वमा भएको यो आक्रोश राष्ट्रपति अलेक्जेन्डरको तानाशाही विरुद्ध राष्ट्रिय विद्रोहमा परिणत भएको छ। अब यो आन्दोलन यति ठूलो भएको छ कि सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले दबाबमा राजीनामा दिइसकेका छन् तर राष्ट्रपति भुकिक भने अझै पनि सत्तामा छन्। विद्यार्थीहरूले उनीहरूको राजीनामा माग गरिरहेका छन् ।