३२ जेष्ठ २०८२, शनिबार

नेपालको नेदरल्याण्ड्समाथि लगातार दोस्रो जित

nepal

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्समाथि लगातार दोस्रो जित निकालेको छ। मंगलबार स्कटल्याण्डको डन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनायो। जवाफमा २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९.२ ओभरमा २२० रनमै अलआउट भयो।

नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले समान ३ विकेट लिए भने ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए।

नेदरल्याण्ड्सतर्फ वेस्ली बारेसीले सर्वाधिक ३६ रन बनाए। माइकल लेभिटले २७, कप्तान स्कट एडवार्ड्सले ३० तथा काइल क्लेनले २५ रनको योगदान दिए।

यसअघि नेपालका आरिफ शेखले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए। यो उनको ओडीआई करियरकै उच्च स्कोर हो। उनले अघिल्लो खेलमा पनि नेदरल्याण्ड्सविरुद्ध ७८ रनको योगदान दिएका थिए।

भीम सार्कीले ३५, कप्तान रोहितकुमार पौडेलले ३३, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बनाए। बसिर अहमदले ११, करण केसीले ११ तथा नन्दन यादव १० रनमा अविजित रहे।

नेपालका ओपनर कुशल भुर्तेल (१८ रन) र अनिल साह (२ रन) चाँडै आउट भए। दुवैलाई पल भान मेकरेनले पभेलियन फर्काए।

खेलमा एक विशेष घटना पनि देखियो, दोस्रो इनिङको सुरुवातमै नेदरल्याण्ड्सले नेपालविरुद्ध १० रनको पेनाल्टी पाएको थियो। यसरी कुनै बल खेल्नुअघि नै उनीहरूले १० रन जोड्न सफल भए। यद्यपि त्यो पनि जितको लागि पर्याप्त बन्न सकेन।

नेदरल्याण्ड्सको बलिङतर्फ पल भानले ४, माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए।

यस जितसँगै नेपालले १६ खेलमा १२ अंक जोड्दै आठ राष्ट्र सहभागी लिग टु तालिकाको सातौं स्थानमा उक्लिएको छ। पराजित नेदरल्याण्ड्स भने २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत् छ।