
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण घाटामा गएको भन्ने प्रचार निराधार भएको दाबी गर्नुभएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले आफ्नो बदनाम गराउने नियतका साथ जनतामा भ्रम फैलाउन यस्तो सूचना प्रचार गरिएको आरोप लगाउनुभयो।
“प्राधिकरण घाटामा गएको छैन। यस्तो तथ्यांक नै गलत छ। नियोजित ढंगले जनतालाई भ्रममा पार्न प्रचारबाजी भइरहेको छ,” उहाँले भन्नुभयो।
पूर्वकार्यकारी निर्देशक घिसिङका अनुसार, आफ्नो कार्यकालमा प्राधिकरणलाई नाफामा लैजाने काम भएको थियो। “मैले बक्यौता उठाउन थाल्दा र आर्थिक अनुशासन कायम गर्न खोज्दा मलाई पदबाट हटाउने निर्णय गरियो,” उहाँले थप आरोप लगाउनुभयो।
उहाँले नेपाल विद्युत् प्राधिकरणले पछिल्ला वर्षहरूमा उत्पादन र वितरण सुधारसँगै आर्थिक रूपमा मजबुत बन्दै आएको स्मरण गराउँदै गलत विवरण सार्वजनिक नगर्न आग्रह गर्नुभयो।
“हाम्रो प्रयास भनेको विद्युत् आपूर्ति सुधार गर्नु र वित्तीय अनुशासन कायम गर्नु थियो। तर त्यसकै कारण केही स्वार्थ समूहहरू आक्रोशित भए,” उहाँले भन्नुभयो।