
काठमाडौं, ११ चैत्र । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।
घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै समझदारी बनेको थियो ।
सरकारले घिसिङलाई पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । यसअघि नै विभागीय मन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए ।
गत फागुन २५ गते घिसिङले आफूलाई पदबाट हटाउनु पर्ने गरी एउटै काम नगरेको भन्दै मन्त्रालयमा सफाई पेश गरेका थिए । घिसिङले आफूले नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्याएको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको बताएका थिए ।