
एकपछि अर्का कलाकारको वैवाहिक सम्बन्धमा दरार आइरहेको खबरका बीच यही पंक्तिमा अभिनेत्री अरुणिमा लम्साल पनि थपिन बाध्य भएकी छिन् ।
गत भदौ ३ गते जनै पूर्णिमाका दिन सुनसरी निवासी युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी अरुणिमाले सामाजिक सञ्जालबाट आफ्नो विवाहसम्बन्धी सबै तस्वीर हटाएपछि उनको वैवाहिक सम्बन्धमा समस्या आएको अड्कल गरिएको हो ।
अरुणिमाले विवाहपछि श्रीमान् युवराजसँगका तस्वीर फेसबुक र इन्स्टाग्राममा सेयर गरेकी थिइन् । तर, अहिले ती कुनै पनि तस्वीर सामाजिक सञ्जालमा छैनन् ।
यसबाहेक, अरुणिमाले आफ्नो इन्स्टाग्रामबाट श्रीमान् युवराजलाई अनफोलोसमेत गरेकी छिन् । यसबाट उनीहरूबीचको सम्बन्ध बिग्रिएको स्पष्ट संकेत मिलेको छ ।
विशेष स्रोतका अनुसार, अरुणिमा र युवराजको डिभोर्स भइसकेको छ । भनिएअनुसार, अरुणिमाले अमेरिकाबाटै डिभोर्सका लागि फाइल गरेकी हुन् । यद्यपि, यस विषयमा दुबैले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
विवाहपछि युवराज पत्नी अरुणिमासँग अमेरिका जाने तयारीमा थिए । तर, हालसम्म उनी नेपालमै छन् । यसबाहेक, अरुणिमाले युवराजले आफूलाई धोका दिएको गुनासो आफ्ना निकट साथीहरूसँग गर्दै आएकी थिइन् ।
युवराजले भने आफ्नो सामाजिक सञ्जालबाट विवाहका तस्वीर हटाएका छैनन् । उनको फेसबुक र इन्स्टाग्राममा अरुणिमासँगको विवाहका तस्वीरहरू यथावत् छन् । गत भदौमा उनीहरूले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेपछि काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेका थिए ।
विवाहको एक साता नबित्दै अरुणिमा अमेरिका फर्केकी थिइन् । उनी कागजपत्र मिलाएर श्रीमान्लाई अमेरिका लैजाने योजनामा थिइन्। तर, सम्बन्ध नै बिग्रिएको कारण अब त्यो सम्भव देखिँदैन ।
एक समय नेपाली चलचित्र क्षेत्रमा सुपरहिट नायिकाको रुपमा चिनिएकी अरुणिमाले ‘धड्कन’, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ लगायत ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । एक दशकदेखि अमेरिका बस्दै आएकी उनले हालै अमेरिकामै बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’मार्फत अभिनयमा पुनरागमन गरेकी छिन् ।
अरुणिमा र युवराजको वैवाहिक सम्बन्धमा आएको उतारचढावबारे अहिलेसम्म औपचारिक पुष्टि नभए पनि सामाजिक सञ्जालमा देखिएको परिवर्तनले उनीहरूको सम्बन्ध अन्त्य भइसकेको संकेत गर्छ । अब उनीहरूले यसबारे औपचारिक धारणा कहिले सार्वजनिक गर्छन् भन्ने चासो सबैमा छ ।