१९ बैशाख २०८२, शुक्रबार

एलिनाले भनिन्–कसैले पनि डिभोर्स हुन्छ भनेर बिहे गरेको हुँदैन’

elina

गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी छिन्। विवाहपछिका विभिन्न उतारचढावपछि उनले सम्बन्ध टुंग्याउने निर्णय लिएकी हुन्।

सामाजिक सञ्जालमा लाइभ गर्दै एलिनाले डिभोर्स कुनै सहज निर्णय नभएको स्पष्ट पार्दै यसबारे कसैलाई पनि गाली नगर्न आग्रह गरिन्। उनले भनिन्, “कसैले पनि डिभोर्स हुन्छ भनेर बिहे गरेको हुँदैन। हिन्दू संस्कारअनुसार बिहे सात जन्मको बन्धन मानिन्छ। कुनै बाबु-आमाले छोरीको कन्यादान गरेर डिभोर्स होस् भन्ने चाहेका हुँदैनन्। यो हाम्रो परिपक्व निर्णय हो, जसमा दुवै परिवारको सहमति छ।”

एलिनाले आफ्नो सम्बन्धको क्रममा धेरै चुनौतीहरू रहेको खुलासा गरिन्। उनले थपिन्, “हाम्रो प्रेम विवाह थियो। प्रेमसम्बन्ध हुँदा पनि केही असमझदारीहरू थिए। मैले सोचेँ, समयसँगै सबै ठीक हुन्छ। तर, अपेक्षाअनुसार भएन। मायामा यस्तो हुँदोरहेछ कि, आफूले माया गरेको व्यक्तिलाई गाली गर्दा आफूलाई नै बढी चोट लाग्दोरहेछ।”

गायिका चौहानले विष्णु सापकोटालाई गाली नगर्न आग्रह गर्दै आफैंलाई मात्र दोष दिन सक्ने बताइन्। उनले भनिन्, “मेरो जीवनको निर्णय मेरो हातमा थियो। मैले नै सोचेर बिहे गरेको थिएँ। उहाँले पनि मलाई कलाकार भएको थाहा पाएर नै बिहे गर्नुभएको थियो। हाम्रो सम्बन्ध चलेन, तर त्यसका लागि उहाँलाई दोष दिने कुरै आउँदैन। अब म सिकेर अगाडि बढ्नेछु।”

उनले आफ्नो निर्णयलाई अनावश्यक विवादित नबनाउन आग्रह गर्दै भनेकी छिन्, “यो मेरो व्यक्तिगत जीवन हो। यो विषयलाई मजाक बनाइ कमाइ खाने माध्यम नबनाइदिनुहोस्।”

गायिका एलिना चौहान र विष्णु सापकोटाले १० महिना लामो वैवाहिक जीवनलाई टुंग्याउने निर्णय गरेका छन्। उनीहरूले परस्पर समझदारीमा डिभोर्सको प्रक्रिया अघि बढाएका छन्।

    सम्बन्धित समाचार...