२१ बैशाख २०८२, आईतवार

अध्यक्ष दाहाल भन्छन्- सरकारले सय दिन नपुग्दै ठूल्ठूला गल्ती गरेकाले संसद्‍मा बोलेको हुँ

Prchanda
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू प्रतिपक्षी दलको नेता भएको नाताले संसद्‍मा सरकारले गरेका गलत काम कारबाहीको विरोध गरेको टिप्पणी गर्नुभएको छ ।

सत्ताबाट बाहिरिएपछि आवेगमा आएर राजनीतिलाई उत्तेजित पार्नेगरी बोलेको आरोप कांग्रेस एमालेले लगाएपछि दाहालले त्यसको प्रतिवाद गर्नुभएको हो ।

पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठक सहभागी हुन आज सुर्खेत पुगेका दाहालले पत्रकार सम्मेलनमा आफूले आवेग आएर अभिव्यक्ति नदिएको बरु लोकतान्त्रिक विधि र प्रक्रियाविपरीत दुई ठूला दल मिलेर बनेको सरकारले सय दिन नपुग्दै ठूल्ठूला गल्ती गरेको हुनाले प्रतिपक्षी नाताले त्यसको विरोध मात्र गरेको बताउनुभयो ।

उहाँले विस्तृत शान्ति सम्झौता र संविधान निमार्णमा माओवादी केन्द्रको ऐतिहासिक भूमिकालाई सत्ता पक्षले खुच्याउन खोजेर आरोपसमेत लगाउनुभएको छ ।