२१ बैशाख २०८२, आईतवार

सम्मान नगरेकै कारण अजय देवगनले फिल्मबाट हटाए विजयराजलाई

vijay raaz and ajay devgn

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘सन अफ सरदार २’ बाट अभिनेता विजय राजलाई हटाइएको छ ।

हाल बेलायतमा छायांकन भइरहेको फिल्मको सेटमा अभिनेताले दुर्व्यवहार गरेको आरोपमा उनलाई फिल्मबाट हटाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।

अर्कोतर्फ अभिनेता विजयले भने दुर्व्यवहारलाई अस्वीकार गर्दै अजय देवगनलाई फिल्मको सेटमा स्वागत नगरेको भन्दै फिल्मबाट हटाइएको बताएका छन् ।

एक्सन कमेडी फिल्म ‘सन अफ सरदार’ को सिक्वेल ‘सन अफ सरदार २’ घोषणा भएदेखि नै चर्चामा छ । बेलायतको भिसा नपाएपछि सञ्जय दत्त फिल्मबाट बाहिरिएका थिए । हालै अजय देवगनले फिल्मको सुटिङ सुरु भएको घोषणा गरेका छन् । तर, अब अर्का स्टार फिल्मबाट बाहिरिएको खबरले फ्यानलाई स्तब्ध बनाएको छ । विजय राज अब फिल्मको हिस्सा छैनन् ।

मिडिया रिपोर्टका अनुसार अभिनेता विजयको दाबी विपरीत उनले फिल्मको सेटमा प्रिमियम सुइट, भ्यानिटी भ्यान लगायतको माग गरेको दाबी गरिएको छ ।

बेलायत फिल्म सुटिङका लागि महँगो ठाउँ भएको भए पनि उनलाई राम्रो सुविधा उपलब्ध गराए पनि उनले निर्माण टिमलाई दुर्व्यवहार गरेको बताइएको छ । निर्माण पक्षले अभिनेताका सबै माग पूरा गर्ने प्रयास गर्दा पनि उनको माग पूरा नभएपछि व्यवहार झनै बिग्रिएको बताएको छ ।

तर, विजय राजले भने आफूले अभिनेता अजय देवगनलाई अभिवादन नगरेका कारण फिल्मबाट हटाएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘म ट्रायलका लागि समयमै पुगेँ । म भ्यानमा पुगे र रविकिशन मलाई भेट्न आए । मलाई भेट्न कार्यकारी निर्माता आशिष र निर्माता कुमार मंगल आए, त्यसपछि निर्देशक विजय अरोरा आए । भ्यानबाट बाहिर निस्केँ, र अजय देवगनलाई २५ मिटर टाढा उभिरहेको देखेँ, म व्यस्त भएकोले उनलाई स्वागत गर्न गइन, र साथीहरूसँग कुरा गरिरहेँ, २५ मिनेटपछि कुमार मंगल मेरो छेउमा आएर भने, तिमी फिल्मबाट बाहिर निस्क, हामी तिमीलाई निकाल्छौँ । सेटमा पुगेको ३० मिनेटपछि मलाई फिल्मबाट हटाइयो, किनभने मैले अजय देवगनलाई अभिवादन गरिन ।’