२२ बैशाख २०८२, सोमबार

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

Oli Deuba
फाइल फोटो

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।

दुई दलका शीर्ष नेताबीच हिजो मध्यराति सत्ता सञ्चालनको सहमति पत्रमा हस्ताक्षर भएको हो । दुई दलबीच पहिलो डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नु हुने छ भने त्यसपछि कांग्रेस सहमति देउवाको नेतृत्वमा सरकार बन्ने छ । सरकारको नेतृत्व गर्ने दलले ९ र सहयोग गर्ने दलले दश मन्त्रालय लिने सहमति पनि भएको छ । दिनभरको प्रयासमा सहमतिको मस्यौदा तयार भएपछि एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवालाई भेट्न राति बालकोटबाट निस्किनु भएको थियो ।

दुई दलबीच भएको सहमति अनुसार सरकारको नेतृत्व गर्ने दल एमालेले अर्थसहितका मन्त्रालय लिने छ भने कांग्रेसले गृहसहित १० मन्त्रालय लिने छ । त्यस्तै प्रदेश सरकारको नेतृत्वबारे पनि दुई दलबीच सहमति भएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गरी संविधान संशोधन गर्ने लक्ष्यसहित दुई दलले सत्ता समीकरणका लागि सहमति गरेका हुन् । संविधान संशोधनका लागि सुझाव आयोग बनाउने र आयोगले दिएका सुझावका आधारमा संविधान संशोधन गरिने दुई दलले सहमति गरेका छन् ।

कांग्रेस र एमालेका नेताहरूले हिजो राति नै आफूहरुबीच भएको सहमतिबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेको जनाएका छन् ।