१९ बैशाख २०८२, शुक्रबार

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कहाँ कति तिर्ने २ र ४ पाङ्ग्रेलाई प्रतिघण्टा ?

Smart Parking

सहरका विभिन्न स्थानमा पार्किङ गरिने मोटरसाइकल, स्कुटर र चारपांग्रे गाडीका लागि महानगरपालिकाले काठमाडौं पार्किङ शुल्क निर्धारण गरेको छ । विभिन्न चोक र बजारको अवस्था हेरेर फरक फरक शुल्क तोकिएको छ ।

काठमाडौंको न्यूरोड, कान्तिपथ, धर्मपथ र दरकारमार्ग लगायतका क्षेत्रलाई एक नम्बर क्षेत्र मानिएको छ । यस क्षेत्रमा पर्ने त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल र लैनचौरसम्मको क्षेत्रमा सवारी पार्किङ गरेवापत दुईपांग्रेले पहिलो आधा घण्टामा १५ रुपैयाँ र प्रतिघण्टा २५ रुपैयाँ तिर्नुपर्ने छ भने चारपांग्रे गाडीले पहिलो आधा घण्टा ५० रुपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।

क्षेत्र नम्बर १ बाहेकका स्थानमा सवारी साधन पार्किङ गर्दा लाग्ने शुल्क फरक छ । यस क्षेत्रमा सवारी पार्किङ गरेवापत दुईपांग्रेले प्रतिघण्टा १५ रुपैयाँ तिर्नुपर्ने छ भने चारपांग्रे गाडीले प्रति घण्टा ४० रुपैयाँ तिर्नुपर्नेछ । ठूला गाडीका लागि भने प्रतिघण्टा १ सय रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने महानगरले जनाएको छ ।

निजी पार्किङस्थलको शुल्क

महानगरले निजी जग्गामा राखिएका पार्किङ स्थलको पनि शुल्क तोकेको छ । निजी स्वामित्वको घर जग्गामा खोलिएका पार्किङ स्थलमा दुईपांग्रेले पहिलो आधा घण्टामा १५ रुपैयाँ र पहिलो एक घण्टाका लागि २५ रुपैयाँ शुल्क तिर्नुपर्ने छ । त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ शुल्क लिन सकिने महानगरले जनाएको छ ।

त्यस्तै, निजी पार्किङ स्थलमा चारपांग्रे गाडीले पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र प्रत्येक १५ मिनेटका लागि १५ रुपैयाँ शुल्क तिर्नुपर्ने महानगरले निर्णय गरेको छ ।

निशुल्क पार्किङ दिनुपर्ने

महानगरपालिकाका अनुसार निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताल लगायतका व्यवसायिक भवनहरुमा पार्किङ शुल्क लिन पाइने छैन । उनीहरुले सेवाग्राहीलाई निशुल्क पार्किङ उपलब्ध गराउनुपर्नेछ ।

महानगरप्रमुख बालेन्द्र शाहले बहुतले आवासीय भवनमा रहेका व्यवसाय र सेवाप्रदायकलाई सेवाग्राहीसँग पार्किङ शुल्क उठाउन निषेध गरिएको जनाएका छन् ।

पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा वा त्यसरी प्रयोग हुने क्षेत्रको सम्पत्ति करमा १० वर्ष छुट दिने महानगरले जनाएको छ । तर, पार्किङ क्षेत्रलाई अन्य प्रयोजनका लागि प्रयोग गरिएमा कारबाही गरिने जनाइएको छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरेर सञ्चालन गरिने पार्किङ व्यवसायलाई ५ वर्षसम्म व्यवसाय करमा शत प्रतिशत छुट दिने महानगरले घोषणा गरेको छ ।

त्यसैगरी पार्किङ शुल्क उठाउँदा डिजिटल बिलिङ सिस्टम अपनाइनुपर्ने र सार्वजनिक सडकमा सवारी साधान पार्किङ गर्नेमाथि कार्वाही गरिने महानगरपालिकाले स्पष्ट पारेको छ ।

    सम्बन्धित समाचार...