१९ बैशाख २०८२, शुक्रबार

उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा

Prem Chalaune16871593571687161186

जिल्ला अदालत परिसरमा आमरण अनशन बस्नका लागि पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेविसंका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आमरण अनशनका लागि भन्दै अदालत परिसर पुगेका थिए ।

२०७७ असोज २० गते त्रिवि परिसर कीर्तिपुरमा चलाउनेमाथि नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । चलाउनेमाथि आक्रमणको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । सरकारले यो मुद्दा फिर्ता लिएपछि चलाउने आमरण अनशन बस्ने भन्दै जिल्ला अदालत पुगेका थिए ।

अदालतभित्र सोमबार होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको प्रतिक्रिया दिए । उनले देशमा न्याय मरेको र मानवता हराएको जनाए । उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरे । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्‍को निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जनाए । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उनको छ ।

‘म अदालतको चक्कर काटेको पाँच वर्ष भयो । यो देश गुन्डाहरुले राज गरेको देश रहेछ । यहाँ न्याय पनि केही पाइँदो रहेनछ । सरकारले सत्य, न्याय, मानवता मारेको छ । म न्याय खोज्न कहाँ जाउँ ? अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो । अब म न्याय खोज्न कहाँ जाउँ ? त्यसले म समाजमा न्याय खोज्न आएँ,’ उनले भने, ‘मेरा सबै बाटो बन्द भए । जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ । तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ । ममाथि संगठित अपराध भएको थियो । ममाथि हमला भएको थियो । उनीहरु विद्यार्थी थिएनन् ।’

आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको उनको भनाइ छ । उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको आरोप लगाए ।

उपप्राध्यापक प्रेम चलाउनेद्वारा जारी वक्तव्य :

यो देशको मत्स्य न्याय

प्रेम चलाउने

प्रियजनहरु,

म माथिको संगठित अपराध घाम जत्तिकै छर्लङ्ग घटना हो । ब्रड डे लाइटमा उनीहरु पेशेवर अपराधीसहित मलाई मार्न आएका थिए । न्यायका निम्ति म अदालतको ढोका ढकाइरहेको थिए। मेरा आँखा देशको न्यायालयतर्फ थिए । यही असार पाँच गते जिल्लामा मेरो अन्तिम सुनुवाइको पेशी थियो ।

मलाई न्याय दिनुको साटो अदालतलाई समेत बाइपास गरेर सुनुवाई हुनुभन्दा दुई दिन अधि सरकारले मुद्दा फिर्ताको निर्णय लियो। क्याबिनेटबाट मुद्दा फिर्ता लिएर सिंगो राज्य मेराविरुद्ध लाग्यो । जे गर्थ्यो अदालतले गर्थ्यो । अदालतमा विचाराधीन हरेक मुद्दा यसरी नै सरकारले फिर्ता लैजाने हो भने अदालत चाहियो किन ?

यो सरासर अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हो । दण्डहिनता बढाउने खेल हो । अबदेखि कुनै अपराधीले कुनै अमुक पार्टीको ब्यानरमा कसैको हत्या गरे पनि उसलाई केही नहुने भयो । सिंगो राज्य मेराविरुद्ध लागेपछि मेरा अघि केही विकल्प बाँकी रहेन । शिवाय मर्न ।

प्रीयजनहरु म आमरण अनसन थाल्दैछु । म गुहार माग्न सडकमा आउँदैछु । म मरे पनि केही छैन । मात्र मैले भोगेको अन्यायको महाभारतको बारेमा छलफल होस् । यो देशको मत्स्य न्यायको बारेमा चियोचर्चो होस् ।

शक्ति सन्तुलनको महत्त्वपूर्ण निकायलाई कस्तो बनाइदैछ भन्ने बारेमा छलफल होस् । मेरो लडाइँ हजारौं प्रेमबहादुर चलाउनेको लडाइँ हो । आज म जहाँ छु, यो देशमा शिक्षकको ठाउँ यही रहेछ । विश्वविद्यालयमा अपराध बढेको छ । अपराधी गिरोहले शिक्षक, कर्मचारीको निरिहताको फाइदा उठाएका छन् । शिक्षकहरु बोल्न सकेका छैनन् । म किन पनि यो लडाइँ लडिरहेको छु भने मलाई भन्नु छ तिमीले ठाने जस्तो शिक्षकहरु कायर हुँदैनन् । पर्‍यो भने आफूले वा देशको कुनै नागरिकले भोगेको अन्यायका विरुद्धमा ज्यानको बाजी थापेर पनि लडछन् ।

अभियुक्त ७ जनामध्ये ३ जना त भागिसकेका छन् । सातै जनाले अदालतको तारेख गुजारेर बसेका छन् । उनीहरु सबैजना पटक पटक कहिले प्रहरीको कस्टडी त कहिले अदालतको आदेशबाट भागि हिँडेका व्यक्ति हुन यस्ताको मुद्दा कसरी फिर्ता लिइयो विश्वविद्यालयमा दण्डहिनता कम भयो भनेर हो ? कुलपतिज्यूले प्राध्यापक मारिनु पर्छ, पिटिनु पर्छ, तिमी सबै भय र त्रासमा बाँच्नु पर्छ भन्न खोज्नु भएको हो ? पूर्वाञ्चल विश्वविद्यालयमा भएको अस्ति ‘भर्खरको घटनाको खाटा पनि बस्न पाएको छैन । यस्ता घटनालाई निरन्तरता दिइराख्नका लागि होस गरी मन्त्रिपरिषद्‌मा लान नसकेको यो मुद्दामा सरकारले फिर्ता लिने दुस्साहस गर्‍यो ।

अब सबैबाट बन्द गरेपछि आज यहीँबाट सत्याग्रह सुरुमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाई स्वीकार्य छैन, यो देशको विधिको शासनतन्त्र। अदालतलाई यो बेन्चलाई अचानो बनाइँदैछ । मानवताको हत्या सत्य या सदाचार, नैतिकता, इमान्दारिताको हत्या गरिँदैछ । मलाई राज्यले न्याय दिन सकेन । यो देश गुण्डा, अपराधीको देश रहेछ । मलाई यो अपराधिको देशमा बाँच्नु छैन । राज्यले मलाई थप अन्याय गर्‍यो । त्यसैले म जस्ता हजारी पीडित राज्यवार थप पीडित हुन नपरोस् भनेर न्यायका खातिर आमरण अनशन सुरु गर्दैछु न्यायप्रेमी जनताहरुको साथ सहयोगको अपेक्षा सहित न्यायका खातिर बोलिदिन हुन अपिल गर्दछु।

उप प्रा. प्रेमबहादुर चलाउने

    सम्बन्धित समाचार...