
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण दुईपक्षीय हितमा केन्द्रित रहेको र नेपालको विकासका लागि महत्त्वपूर्ण कामहरु अघि बढेको बताएका छन् । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा राष्ट्रहितविपरित कुनै काम नगरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा विद्युत् व्यापार, आर्थिक विकास, कृषि तथा पशु सेवा, पूर्वाधार निर्माणलगायत विषयमा भारत भ्रमण उपलब्धिमूलक रहेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले सीमासम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न आफूले प्रस्ताव राखेको बताए । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेशसँग जाने बाटो नेपालले लिने प्रस्ताव आफूले नराखेको प्रस्ट पारे । दुई देशबीचको सीमा विवादको स्थायी र दीर्घकालीन समाधान नगरिएसम्म नेपाल-भारत सम्बन्ध सहज बन्न सक्दैन भनेर आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा राखेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले तत्कालीन प्रधानमन्त्री केपी ओलीका पालामा ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश र अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक एउटै भएकाले यो सबैको साझा भएको दाबी गरे । उनले नेपालीसँग विवाह गरेर आउने महिलालाई नागरिकता दिने विषयमा केही वर्षको सीमा राख्ने पक्षमा आफू अहिले पनि स्पष्ट रहेको बताए ।
त्यसअघि संसद् बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादलगायत विषयमा राष्ट्रहितविपरीत अभिव्यक्ति आएको भन्दै विरोध गरेको थियो । एमाले सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई उक्साएर संविधान मिच्न लगाइएको र प्रधानमन्त्रीले नेपाली भूमि साटफेरको कुरा राखेर राष्ट्रहितविपरीत काम गरेको आरोप लगाएका थिए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर ढकालको प्रधानमन्त्रीले भारतबाट भैंसी चढेर आएको भन्ने अभिव्यक्तिप्रति सत्ता पक्ष र विपक्षी सांसदबीच केहीबेर विवाद भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।