
प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबीच सवाल जवाफ भएको छ ।
सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले जनयुद्ध शब्द सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको प्रति आपत्ति जनाएका थिए ।
नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै उनले आपत्ति जनाए । उनले नेपालको कुनैपनि सरकारी दस्तावेजहरुमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको उल्लेख गरे । उनले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्वीकारेको भन्दै प्रश्न उठाए ।
त्यसपछि बोलेका माओवादी सांसद पौडेलले भट्टराईले आपत्ति जनाएको जनयुद्ध शब्दको प्रतिवाद गरे ।
उनले वृहत शान्ति सम्झौताको १२ बुँदे सहमतिलाई स्मरण गराउँदै मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने तर्क गरे ।
भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले उक्त युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको र मानिसले लडेका कारण जनयुद्ध भएको स्पष्ट पारे ।
उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि आग्रह गरे ।
‘यो माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ, कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरुले लडेका युद्ध थियो,’ उनले अगाडि भने, ‘बिर्सिनुभयो वृहत शान्ति सम्झौता ? तपाईंको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ? हामी त्यही शृंखलामा छौँ । त्यसकारण नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो । म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु ।’
पौडेलले इतिहासलाई सम्मान गर्न आग्रह गरे । साथै उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनेर नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे ।
त्यसअघि एमाले सांसद भट्टराईले भनेका थिए, ‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । यहाँ विगतमा भएका आन्दोलनहरुको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ०७२ सालको संविधानपछि नेपालका कुनैपनि सरकारी दस्तावेजहरुमा यो शब्द उल्लेख भएको छैन । पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ ।’
उनले आफूले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति इंगित नगरी कांग्रेसको ध्यानाकर्षण गर्न चाहेको जनाए । ‘यतिबेला म प्रधानमन्त्री पुष्पकमल दाहालजीप्रति इंगित गरिराखेको छैन,’ उनले थपे, ‘यदि यो १ नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्री नेपाली कांग्रेसकै इन्ड अफ द हिस्ट्री हो । यदि यो शब्दलाई र यो स्प्रिटलाई उहाँहरुले स्वीकार्नु हुन्छ भने ।’