१८ बैशाख २०८१, मंगलवार

ट्विटरको नयाँ सीईओ लिन्डा याक्कारिनो

twitter ceo

सामाजिक सञ्जाल ट्विटरले लामो समयपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । एलन मस्कले ट्विटरको नयाँ सीईओमा एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याक्कारिनोलाई नियुक्त गरेका हुन् ।

ट्विटरको स्वामित्व खरिदको केही समयपछि एलन मस्कले कम्पनीको कार्यकारी भूमिकामाथि हस्तक्षेप गर्दै सबै जिम्मेवारी लिएका थिए । उनको उक्त भूमिका विवादास्पद रहन पुग्यो । विवादास्पद हस्तक्षेपको ६ महिनापछि एलन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका हुन् ।

करिब ६ हप्तापछि याक्कारिनोले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ। मस्कले ट्विटरमार्फत नयाँ सीईओको नाम घोषणा गरेका हुन्। नाम घोषणाको एक दिन अगाडि नै मस्कले नयाँ सीईओ फेला परेको उल्लेख गरेका थिए ।

नयाँ सीईओ नियुक्तिसँगै आफू कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसरको भूमिकामा रहने मस्कले बताएका छन् ।

याक्कारिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनले जानकारी दिएका छन् ।

एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याक्कारिनोले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठूलो फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ।

मस्कले गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए । ट्विटर खरिद गरेदेखि नै त्यसको सीईओ पद आफै सम्हाल्दै आएका मस्क आधा जसो कर्मचारी कटौती गर्नेदेखि लिएर खाता प्रमाणित गर्ने निलो टिकका लागि मासिक आठ डलर शुल्क लिने जस्ता निर्णय गरेर विवादित बन्दै आएका छन् ।

मस्कले गत वर्ष ‘आफूले ट्विटरको सीईओ पद छाड्नु पर्छ ?’ भन्ने प्रश्न ट्विट गरेर प्रयोगकर्ताको मतसमेत मागेका थिए । बहुमत मतदाताले मस्कलाई ट्विटरको सीईओ पद छाड्न सुझाव दिएका थिए भने मस्कले पनि जनमतको पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

यद्यपि उनले त्यसको समय भने तोकेका थिएनन् ।

    सम्बन्धित समाचार...