
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयकमाथि राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिटअनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानको संरक्षकको रुपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको उक्त विधेयकलाई छलफल गर्न नमिल्ने तर्कसमेत गरे । उनले उक्त विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग गरे । आफूहरु विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो ।
‘राष्ट्रपतिले छलफल गरिरहनु भएको छ, निष्क्रिय भएर थन्किएर बसेको नागरिकता विधेयकमा । आज पनि त्यो समाचार दैनिक पत्रिकाहरुमा पढ्दा बडो दुःख लागेको छ । म सरकारलाई आग्रह गर्दछु, त्यो नागरिकता विधेयक तुरुन्त यो प्रतिनिधिसभामा ल्याएर दर्ता गरोस् । त्यसमाथि छलफल सुरु गरोस्,’ उनले अगाडि भने, ‘हामी त्यसलाई छिटोभन्दा छिटो छलफल गरेर, दिनरात छलफल गरेर पारित गर्न तयार छौं । तर धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपतिले झिकेर जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ ? संविधानको संरक्षकले गर्ने काम हो यो ? विधेयक जारी गर्ने, त्यसलाई छलफल गर्ने, त्यसलाई कानुन बनाउन प्रारम्भिक काम गर्ने दायित्व हाम्रो हो । यो अधिकारको सुरक्षा होस् ।’
सांसद पन्तले संघीय संसदको अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने उल्लेख गरे ।