
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधसभा सदस्य रवि लामिछानेले विनियोजन विधेयक विगतका वर्ष झैँ ‘गरिने छ’ ले भरिएको नियमित कर्मकाण्डी दस्ताबेज ल्याइएको धारणा राखेका छन् ।
संघीय संसद्मा प्रस्तुत उक्त विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा सोमबार उनले यस्तो बताएका हुन् । छलफलका क्रममा बोल्दै सांसद लामिछानेले भने, ‘माननीय अर्थमन्त्रीले विगतका वर्षहरूमा जस्तै ‘गरिने छ’ ले भरिएको, तात्त्विक रूपमा विगतका वर्षहरूभन्दा फरक नरहेको विनियोजन विधेयक २०८० का प्राथमिकता तथा सिद्धान्तहरू प्रस्तुत गर्नु भएको छ ।’
बजेटसम्बन्धी विगतका दस्ताबेजमा केही वाक्य र शब्द मात्र हेरफेर गरी ल्याएको नियमित कर्मकाण्डी दस्ताबेजको रूपमा सो विधेयकलाई आफ्नो पार्टीले हेरेको उनले बताए । अर्थतन्त्र असामान्य अवस्थामा रहेको दर्शाउँदै उनले देशको अर्थतन्त्र कता गइरहेको छ भन्ने आकलन गर्ने क्षमतासमेत नेतृत्वमा रहेकाहरूमा कमजोर देखिएको उनले स्वीकार गरे ।
सांसद लामिछानेले गत वर्षको भन्दा पनि कम राजस्व उठ्ने जोखिम देखिएको औल्याउँदै असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सधैँको जस्तो कर्मकाण्डी योजनाले नहुने बताए । उनले सदन समक्ष ‘सधैँ एउटै कुरा गर्ने नतिजा चाहिँ अलग अपेक्षा गर्ने हाम्रो बानी होकि जनतालाई झुक्याउने खेल ?’ भन्दै प्रश्न पनि गरे ।