
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले हरेक कुरा अँध्यारोमात्र देख्ने प्रवृत्ति हाबी भएको गुनासो गरेका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनमिक समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन् ।
हरेक कुरामा नकारात्मक मात्र प्रचारप्रसारले राष्ट्र र जनताको मनोबललाई नै कमजोर पार्ने उनको भनाइ छ । ‘हरेक चिज अँध्यारो मात्रै देख्ने प्रवृत्ति हाबी हुने हो कि भन्ने प्रश्न खडा भएको छ,’ उनले भने, ‘सकारात्मक कुरा नदेख्ने प्रवृत्ति हाबी भएको छ । यसले राष्ट्रलाई, जनताको मनोबल, आत्मबल र विश्वासलाई कमजोर पार्ने र निकै ठूलो दुर्घटनातिर जाने खतरा हुन्छ ।’
प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा इमान्दार प्रयास, सामूहिक संकल्प र पहल गर्दा असम्भव कुरा पनि सम्भव हुन्छ भन्ने विश्वास सबैले लिनु पर्ने उल्लेख गरे ।
‘केही हुँदैन, केही सकिँदैन, सबै उस्तै हुन्, भन्ने विल्कुल अवैज्ञानिक सेन्टिमेन्टल आवेगात्मक विचार र भावना त्यागी इमान्दार प्रयास, सामूहिक संकल्प र पहल गर्दा असम्भव कुरा पनि सम्भव हुन्छ भन्ने विश्वास हामी सबैले लिनु छ,’ उनले भने, ‘जनतालाई पनि त्यो विश्वास हामीले आफ्नो व्यवहारद्वारा दिलाउनु छ ।’
सञ्चारमाध्यमले पनि आलोचनात्मक तर रचनात्मक सूचना र सन्देश गरेर मात्र निराशाको स्थिति चिर्दै देशलाई विकास र समृद्धिको नयाँ बाटोमा लैजान सकिने प्रधानमन्त्री दाहालको भनाइ छ ।